१६ असार २०८३, मङ्लबार
30 June 2026, Tuesday

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको निर्णय बदर, जन्मसिद्ध नागरिकताको अधिकार सुरक्षित

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको निर्णय बदर, जन्मसिद्ध नागरिकताको अधिकार सुरक्षित

न्युयोर्क- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी कार्यकारी आदेशलाई खारेज गरिदिएको छ। अदालतले अमेरिकामा जन्मिएका बालबालिकालाई स्वतः नागरिकता दिने प्रावधानको रक्षा गर्दै ट्रम्पको प्रयासलाई बदर गरेको हो।

राष्ट्रपति ट्रम्पले अवैध वा अस्थायी रूपमा अमेरिकामा रहेका आप्रवासीका सन्तानलाई जन्मसिद्ध नागरिकता नदिने भन्दै कार्यकारी आदेश जारी गरेका थिए। तर, सर्वोच्च अदालतले संविधानको १४औँ संशोधनको व्याख्या गर्दै ६–३ को बहुमतले ट्रम्पको उक्त प्रतिबन्धलाई अस्वीकार गरिदियो। यो निर्णयसँगै अमेरिकामा जन्मिएका हरेक बालबालिकाले अमेरिकी नागरिकता पाउने अधिकार सुरक्षित भएको छ। अदालतको यो फैसलालाई आप्रवासी अधिकारवादी र नागरिक समाजले ठूलो जितका रूपमा लिएका छन्। सदनका सभामुख माइक जोन्सन लगायतका रिपब्लिकन नेताहरूले भने यस निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

नागरिकता सम्बन्धी विवादमा ट्रम्पको विपक्षमा उभिएको अदालतले अन्य दुई मुद्दामा भने रिपब्लिकन र ट्रम्पकै एजेन्डा अनुकूल हुने गरी फैसला सुनाएको छ। अदालतले सार्वजनिक विद्यालय र कलेजका महिला खेलकुद टोलीमा ट्रान्सजेन्डर महिला (तेस्रोलिङ्गी) हरूलाई सहभागी हुन नदिने राज्यका कानुनहरूलाई सदर गरेको छ। ट्रम्पले यस फैसलालाई महिला खेलकुदका लागि ‘ठूलो जित’ भन्दै स्वागत गरेका छन्।

त्यसैगरी, अदालतले राजनीतिक दलहरूले आफ्ना उम्मेदवारका लागि गर्ने चुनावी खर्चमा लगाइँदै आएको ५० वर्ष पुरानो कानुनी सीमालाई पनि खारेज गरिदिएको छ। यो फैसलापछि अब ठूला दाताहरूले दलमार्फत उम्मेदवारका लागि असीमित रकम खर्च गर्न पाउने बाटो खुलेको छ।