१९ असार २०८३, शुक्रबार
3 July 2026, Friday

ट्रम्पको कडा कदम : ५ दिनमै १० हजार आप्रवासी पक्राउ

ट्रम्पको कडा कदम : ५ दिनमै १० हजार आप्रवासी पक्राउ

न्युयोर्क- अध्यागमन र भन्सार प्रवर्तन विभाग (आईआईएस) ले जुन महिनाको अन्त्यमा मात्र ५ दिनभित्र १० हजार अवैध आप्रवासीलाई पक्राउ गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आम देश निकाला (डिपोर्टेसन) अभियानअन्तर्गत यो अहिलेसम्मकै ठूलो धरपकड हो।

नयाँ तथ्याङ्कअनुसार अमेरिकामा अहिले दैनिक करिब २ हजार जना आप्रवासी पक्राउ परिरहेका छन्। यसअघि डिसेम्बरमा दैनिक औसत १ हजार २८३ र फेब्रुअरीमा १ हजार ५७ जना मात्र पक्राउ परेका थिए। अघिल्ला महिनाहरूको तुलनामा अहिले पक्राउ पर्नेको सङ्ख्यामा निकै ठूलो वृद्धि भएको छ।

गत जनवरीमा मिनियापोलिसमा आप्रवासीविरुद्धको कारबाहीको विरोध गर्ने क्रममा दुई अमेरिकी नागरिक मारिएपछि विभागले आफ्नो शैली परिवर्तन गरेको थियो। सहरहरूमा ठूलो संख्यामा फौज उतारेर छापा मार्दा बढी विरोध र झडप हुन थालेपछि अचेल टोलीले शान्त र गोप्य रूपमा पक्राउ गर्ने रणनीति अपनाएको छ।

यो धपकडसँगै अमेरिकाका बन्दी गृहहरूमा थुनिने आप्रवासीको सङ्ख्या बढेर ३९ हजार पुगेको छ। अमेरिकी गृह मन्त्रालयले ट्रम्पको बाचाअनुसार नै देशमा अवैध रूपमा छिरेका र अपराधमा संलग्नहरूलाई खोजेर देश निकाला गर्ने काम भइरहेको बताएको छ।