ट्रकको ठक्करबाट प्रहरी अधिकारीको मृत्यु, अवैध आप्रवासी चालक पक्राउ
- २१ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- पेन्सिलभेनिया राज्यमा डिउटीमा रहेका एक प्रहरी अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको छ। बुधबार बिहान अन्तरराज्यीय राजमार्ग ८१ मा व्यावसायिक सवारीसाधनको जाँच गरिरहेका ४४ वर्षीय प्रहरी अधिकारी माइकल ई. पाहिरा जुनियरलाई अर्को ट्रकले ठक्कर दिएको थियो। ठक्करपछि दुवै ट्रकमा आगो लागेको थियो र पाहिराको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
दुर्घटना गराएको आरोपमा ३३ वर्षीय माइकल बोन पक्राउ परेका छन्। उनी अमेरिकामा अवैध रूपमा बसिरहेका हाइटीका नागरिक हुन्। अमेरिकी सरकारले उनलाई देश छाड्न आदेश दिए पनि उनी लुकेर बसिरहेका थिए र व्यावसायिक ट्रक चलाइरहेका थिए। बोनमाथि सवारी ज्यान, लापरबाहीपूर्वक सवारी चलाएको लगायतका ६ वटा आरोप लगाइएको छ र उनलाई ७ लाख डलर धरौटी माग गरि जेलमा राखिएको छ।
ज्यान गुमाएका प्रहरी अधिकारी पाहिरा क्यान्सर पीडित आफ्नी आमाको हेरचाह गर्न भर्खरै मात्र घर सरेका थिए। अवैध आप्रवासीहरूले व्यावसायिक सवारी चालक अनुमतिपत्र लिएर शृंखलाबद्ध रूपमा दुर्घटना गराउन थालेपछि अमेरिकी सरकारले यसको नियमनमा कडाइ गरिरहेको बेला यो नयाँ घटना बाहिर आएको हो। अघिल्लो वर्ष मात्र अवैध आप्रवासीले चलाएका व्यावसायिक सवारी दुर्घटनामा परी ३० जनाको ज्यान गएको थियो।