न्युयोर्क – अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा किरात राईहरूको मुख्य चाड उभौली साकेला भव्यताका साथ समापन भएको छ। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युकेआरओए) को आयोजनामा जुन २७ तारिखमा साकेला मैझारो गरिएको हो।
आफ्नो देश र भूगोलभन्दा टाढा रहेर पनि पुर्खाको इतिहास, माटोको सुगन्ध र जातीय पहिचान जोगाउने माध्यमका रूपमा यो कार्यक्रम आयोजना गरिएको थियो। उभौलीमा पितृ र प्रकृतिको पूजा गर्दै विभिन्न चराचुरुङ्गी तथा मानव सभ्यताको नक्कल गरी साकेला सिली प्रस्तुत गरियो।
कार्यक्रम युकेआरओए न्युयोर्क च्याप्टरकी कार्यवाहक सभापति वसन्ती राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले उपस्थित सबैलाई धन्यवाद दिँदै साकेला मैझारो औपचारिक रूपमा सम्पन्न भएको जानकारी गराइन्।
कार्यक्रमका प्रमुख अतिथि तथा न्युयोर्कका लागि नेपालका महावाणिज्यदूत दधिराम भण्डारीले साकेलाले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धन गरी विदेशी पर्यटक भित्र्याउन मद्दत गर्ने बताए। उनले साकेलालाई मुख्य चाड भन्दै शुभकामना दिए। विशेष अतिथि तथा सामाजिक अभियन्ता राधाकृष्ण देउजाले यस्ता चाडले हिमाल, पहाड र तराई मिलेर बनेका नेपालीहरूबीच एकता र भ्रातृत्व बढाउने बताए।
एनआरएनए अमेरिकाका उपाध्यक्ष आङ छिरिङ शेर्पाले उभौली वैशाख पूर्णिमाको समयमा अन्नबाली लगाउने र बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने समय भएको भन्दै शुभकामना दिए। आदिवासी जनजाति महासंघ अमेरिका (फिपना) का अध्यक्ष एपी लामाले संस्कार, संस्कृति र सम्पदा हराए पहिचान हराउने र पहिचान हराए अस्तित्व नै हराउने भएकाले यो कार्यक्रम अमूल्य रहेको विचार राखे।
एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले प्रकृति र संस्कृतिको सम्बन्ध मानव सभ्यतासँग जोडिएको बताए। उनले ज्याक्सन हाइटमा कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई व्यक्तिगत र संस्थागत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। यसैगरी, नेपालबाट गएका सामाजिक अभियन्ता किवाहाङ राईले पनि सबैलाई साकेलाको शुभकामना दिए।
हेलो अमेरिका अनलाइन टिभीकी प्रस्तोता, फिपनाकी महासचिव तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाकी पूर्व अध्यक्ष सुमा थाम्सुहाङ लिम्बूले आफूहरू प्रकृतिको पूजक भएको बताउँदै कार्यक्रम भव्य भएकोमा शुभकामना दिइन्। हामी नेपाली ग्लोबल अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष अदिप तामाङले कर्मभूमिमा टाढा रहेर पनि आफ्नो भेषभूषा र पहिचान कायम राख्दै नयाँ पुस्तालाई चाड हस्तान्तरण गरेकोमा आयोजकलाई धन्यवाद दिए।
युकेआरओएकी केन्द्रीय महासचिव तथा फिपनाकी निवर्तमान उपाध्यक्ष ममता खालिङले मातृभूमि नेपालमा जस्तै अमेरिकामा पनि साकेला प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताइन्। उनले केन्द्रीय समितिको तर्फबाट शुभकामना दिँदै सबैलाई अन्तिमसम्म बसेर रमाइलो गर्न अनुरोध गरिन्। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्युयोर्क च्याप्टरका सभापति शम्भु राईले यो चाड राई समुदायमा मात्र सीमित नरही सबै नेपाली र गैरनेपालीमाझ सद्भाव जगाउने विशेष पर्व भएको र यसले मौलिक संस्कृति जीवित राख्न ठूलो महत्त्व राख्ने बताए।
कार्यक्रमको सञ्चालन युकेआरओए न्युयोर्क च्याप्टरकी महासचिव सिर्जना राईले गरेकी थिइन्। उनले पहिचान सकिए अस्तित्व मेटिने बताउँदै खेतीपाती, बोटबिरुवा र वातावरण राम्रो होस् भनेर प्रकृतिको पूजा गरिने जानकारी गराएकी थिइन्।
यस प्रकारका कार्यक्रमले विविधतामा एकताको भावना बलियो बनाउनुका साथै नेपालीहरूको सांस्कृतिक कूटनीतिलाई समेत मजबुत बनाउने विश्वास लिइएको छ।