मेनमा आईसीई अधिकारीको गोलीबाट चालकको मृत्यु, अनुसन्धान जारी
- ३० असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको मेन राज्यस्थित बिडेफोर्ड सहरमा सोमबार एक अध्यागमन अधिकारी (आईसीई) ले गोली हानी एक चालकको ज्यान लिएका छन्। ‘सार्वजनिक सुरक्षामा खतरा’ महसुस भएकाले गोली चलाउनुपरेको ती अधिकारीले बताएका छन्। पछिल्लो एक हप्तामै आईसीई एजेन्टले यसरी गोली चलाएर ज्यान लिएको यो दोस्रो घटना हो।
घटनालगत्तै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। दर्जनौँ प्रदर्शनकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीति र आईसीईको कारबाहीको विरोध गर्दै सोमबार साँझ बिडेफोर्डमा र्याली निकालेका थिए।
घटनास्थलको सडकमा रगत लतपतिएको देखिएको छ भने गोली लागेको गाडीलाई त्यहाँबाट हटाइएको छ। मारिने व्यक्ति २६ वर्षीय कोलम्बियन नागरिक रहेको र उनीसँग अमेरिकामा काम गर्ने अनुमतिसमेत रहेको अधिकारकर्मीहरूले बताएका छन्। अहिले यो घटनाको अनुसन्धान भइरहेको छ।