दक्षिण अफ्रिकाबाट ५३ हजारभन्दा बढी आप्रवासीलाई देश निकाला
- ३० असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- दक्षिण अफ्रिकाले एक महिनाको अवधिमा ५३ हजारभन्दा बढी अफ्रिकी आप्रवासीलाई देश निकाला गरेको छ वा उनीहरूकै देश फर्काएको छ। अवैध आप्रवासीविरुद्धको कडा अभियान र प्रदर्शनका क्रममा विदेशी नागरिकमाथि आक्रमण हुन थालेपछि सरकारले यो कदम चालेको हो।
दक्षिण अफ्रिकाका न्याय मन्त्री ममामोलोको कुबायीले फर्काइएकामध्ये ८० प्रतिशतभन्दा बढी मलावीका नागरिक रहेको बताए। पछिल्लो समय विदेशी नागरिकमाथि आक्रमण बढ्न थालेपछि मलावी, मोजाम्बिक, जिम्बाब्वे, नाइजेरिया लगायतका देशहरूले आफ्ना नागरिक ल्याउन जहाज र बस पठाएका थिए।
विदेशी नागरिकको परिचयपत्र माग्दै दुःख दिने, तर्साउने र सार्वजनिक स्थानमा हिंसा मच्चाउने ३५० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनका क्रममा मोजाम्बिकका दुई र मलावीका एक जना गरी तीन आप्रवासीको ज्यान गएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्थानीय बासिन्दाले आप्रवासीका कारण देशमा बेरोजगारी र अपराध बढेको आरोप लगाउँदै आएका छन्। उनीहरूले आप्रवासीलाई देश छाड्न दबाब दिँदै प्रदर्शन चर्काएका थिए। यसैबीच, राष्ट्रपति सिरिल रामाफोसाले सीमा सुरक्षा कडा बनाउने घोषणा गर्दै कानुन हातमा नलिन स्थानीयलाई चेतावनी दिएका छन्। लगातारको डर र त्रासका कारण वैध रूपमा बसिरहेका कतिपय आप्रवासी पनि देश छाड्न बाध्य भएका छन्।