१ साउन २०८३, शुक्रबार
17 July 2026, Friday

टेक्सासको अध्यागमन शिविरमा कुटपिट र मानव अधिकार उल्लंघन भएको प्रतिवेदन सार्वजनिक

टेक्सासको अध्यागमन शिविरमा कुटपिट र मानव अधिकार उल्लंघन भएको प्रतिवेदन सार्वजनिक

न्युयोर्क- टेक्सासको एउटा ठूलो अध्यागमन हिरासत केन्द्र (डिटेन्सन सेन्टर) मा राखिएका आप्रवासीहरूमाथि सुरक्षाकर्मीले कुटपिट गर्ने गरेको र उनीहरूको मानव अधिकार उल्लंघन भइरहेको दाबी गरिएको छ। मानव अधिकारवादी संस्थाहरू ‘ह्युमन राइट्स वाच’ र ‘ए ACLU’ ले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा यो कुरा उल्लेख छ।

टेक्सासको एल पासोस्थित ‘क्याम्प इस्ट मोन्टाना’ मा राखिएका आप्रवासीहरूसँग गरिएको कुराकानीका आधारमा यो प्रतिवेदन तयार पारिएको हो। अन्तरवार्ता लिइएकामध्ये करिब ९० प्रतिशतले आफूमाथि कुटपिट भएको वा अरूलाई कुटपिट गरिएको देखेको बताएका छन्। त्यहाँ राखिएका मानिसहरूलाई आवश्यक स्वास्थ्य उपचार नदिएको, फोहोर ठाउँमा राखेको, खानै नहुने खाना दिएको र परिवार तथा वकिलसँग सम्पर्क गर्न समेत नदिएको प्रतिवेदनमा उल्लेख छ।

यस विषयमा अमेरिकी गृह मन्त्रालयले भने प्रतिवेदनमा गरिएका दाबीहरू पूर्ण रूपमा गलत भएको बताएको छ। मन्त्रालयले हिरासतमा रहेका कसैमाथि पनि कुटपिट वा दुर्व्यवहार नभएको र उनीहरूको स्वास्थ्य र सुरक्षामा ध्यान दिइएको दाबी गरेको छ। यद्यपि, उक्त शिविर खुलेदेखि अहिलेसम्म कम्तीमा तीन जना आप्रवासीको मृत्यु भइसकेको छ, जसमा एक जनाको मृत्युलाई चिकित्सकहरूले हत्या भनेका छन्। अधिकारीहरूले त्यहाँको व्यवस्थापन कमजोर रहेको र सुरक्षा मापदण्डहरू पालना नभएको भन्दै यसअघि नै ठेकेदार कम्पनी समेत परिवर्तन गरिसकेका छन्।