२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

अमेरिकामा विद्यार्थी भिसाको नियम परिवर्तन: सेप्टेम्बर १५ अगावै फर्कन विश्वविद्यालयहरूको आग्रह

अमेरिकामा विद्यार्थी भिसाको नियम परिवर्तन: सेप्टेम्बर १५ अगावै फर्कन विश्वविद्यालयहरूको आग्रह

अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सेप्टेम्बर १५ भन्दा अगावै अमेरिका फर्कन विभिन्न विश्वविद्यालयहरूले आग्रह गरेका छन्। अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले विद्यार्थी भिसासम्बन्धी कडा नयाँ नियम लागू गर्न लागेकाले बिदामा बाहिर रहेका F-1 र J-1 भिसा वाहकहरूलाई यस्तो सुझाव दिइएको हो।

सरकारले ल्याउन लागेको नयाँ नियम अनुसार अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अधिकतम ४ वर्षका लागि मात्र प्रवेश अनुमति दिइनेछ। हाल कायम रहेको ‘ड्युरेसन अफ स्टेटस’ (D/S) प्रणालीलाई विस्थापित गर्दै यो नियम सेप्टेम्बर १५ देखि कार्यान्वयनमा ल्याउन लागिएको हो।

नयाँ नियममा पढाइ सकिएपछि अमेरिकामा बस्न पाइने समय (ग्रेस पिरियड) लाई पनि ६० दिनबाट घटाएर ३० दिन बनाइएको छ। साथै, अध्ययनको म्याद थप्नका लागि विद्यार्थीहरूले अमेरिकी अध्यागमन सेवा (USCIS) बाट अनिवार्य रूपमा छुट्टै स्वीकृति लिनुपर्नेछ।

तर सेप्टेम्बर १५ अघि नै अमेरिकामा रहेका विद्यार्थीहरूले भने आफ्नो कोर्स नसकिउन्जेल वा ‘ओपिटी’ (OPT) को म्याद नसकिउन्जेल पुरानै नियम अनुसार बस्न पाउनेछन्। अमेरिकामा धेरैजसो स्नातक र पीएचडी तहको अध्ययन पूरा हुन ४ वर्षभन्दा बढी समय लाग्ने भएकाले यो नयाँ नियमले हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अन्योलमा पार्ने देखिएको छ।