मगर संघ अमेरिकाको १०औं वार्षिक साधारण सभा बोस्टनमा हुने
- ०६ साउन २०८३
- २ मिनेटको पढाई
न्युयोर्क- ‘अमेरिकाको मूलधारमा मगरहरूको उपस्थिति र सहभागिता, उदाउँदो मगर पुस्तालाई मगर भाषा, संस्कार र संस्कृति पुस्तान्तरण आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औं वार्षिक साधारण सभा अगस्ट ८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन सहरमा हुने भएको छ। साधारण सभाको अन्तिम तयारी भइरहेको अध्यक्ष दीप सागर बुढामगरले बताए।
मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र म्यासाचुसेट्स शाखाको मुख्य व्यवस्थापनमा हुन लागेको सभामा प्रमुख अतिथिका रूपमा विश्वप्रसिद्ध पर्वतारोही तथा प्रेरक वक्ता हरि बुढामगर बेलायतबाट आउने भएका छन्। अफगानिस्तानको युद्धभूमिमा भएको विस्फोटमा दुवै खुट्टा गुमाएका बुढामगर कृत्रिम खुट्टाको सहायताले विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो आरोही हुन्। रोल्पाको विकट गाउँदेखि ब्रिटिस गोर्खा सैनिक बन्ने सपना, युद्धमा भोगेको चोट र सातै महादेशका सर्वोच्च शिखरमा पुगेर देखाएको साहसले उनको जीवनकथा भावी पुस्ता र विशेषगरी अपांगता भएकाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मानबहादुर रानामगरले अलबानीबाट आएर आदिवासी समुदायको अधिकारबारे सम्बोधन गर्नेछन्। त्यस्तै, अन्तर्राष्ट्रिय मगर महासंघका महासचिव वीरभान घर्तीमगरले बेल्जियमबाट संस्थाको महत्त्वबारे प्रकाश पार्नेछन् भने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक झकेन्द्र घर्तीमगरले ‘मगरात सभ्यता, मगर जातिको इतिहास र पहिचान’ बारे कार्यपत्र प्रस्तुत गर्नेछन्। मगर संघ अमेरिकाका पूर्वअध्यक्षहरू महेन्द्र थापामगर, रुद्र आलेमगर, कुलदीप रानामगर र निवर्तमान अध्यक्ष याम पुनमगरको पनि विशेष उपस्थिति रहनेछ।
संस्थाको इतिहासमै पहिलो पटक बोस्टन सहरबाट ‘बोस्टन घोषणापत्र २०२६’ पारित हुने र यसले अमेरिकाभर रहेका मगरहरूको एकताको सन्देश दिने अध्यक्ष दीप सागरले बताए। उनका अनुसार कार्यक्रमलाई मगर सांस्कृतिक परेड, समुद्घाटन समारोह, बन्द सत्र र शुभकामना सांस्कृतिक साँझ गरी चार चरणमा विभाजन गरिएको छ। करिब दुई माइल लामो सांस्कृतिक झाँकीसहितको परेड पदयात्रा गरिनेछ।
कार्यक्रममा प्रमुख अतिथिलाई विशेष अभिनन्दन गरिनुका साथै विभिन्न विधामा संस्थाका धरोहरहरूलाई सम्मान गरिनेछ। अमेरिकामा अध्ययनरत १० जना उत्कृष्ट विद्यार्थीलाई ‘मगर छात्रवृत्ति २०२६’ र संस्थाका नयाँ आजीवन सदस्यहरूलाई सदस्यता प्रदान गरिनेछ। बन्द सत्र समापनपछि हुने सांस्कृतिक साँझमा चर्चित कलाकार र विभिन्न शाखाहरूको सांगीतिक प्रस्तुति रहनेछ।
सभाको मुख्य व्यवस्थापनको हैसियतले म्यासाचुसेट्स शाखाले विभिन्न उपसमितिहरू गठन गरी कार्यक्रमलाई चुस्त बनाउन लागिपरेको शाखाका अध्यक्ष देवराज पुनमगरले बताए।
अमेरिकाभर छरिएर रहेका सम्पूर्ण मगरहरूलाई एउटै छातामुनि गोलबद्ध गरी आपसी सहयोग आदानप्रदान गर्न र मगर भाषा, संस्कार तथा संस्कृतिको संरक्षण गर्दै अन्य नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले सन् २००४ मार्च २८ मा न्युयोर्कमा मगर संघ अमेरिकाको स्थापना भएको हो।