स्पेन पुग्ने आशमा हजारौँ मोरोक्कन नागरिकको जोखिमपूर्ण यात्रा, निराश हुँदै फर्किए
- १७ साउन २०८३
- १ मिनेटको पढाई
स्पेन- स्पेनको भूमि सेउटा पुगेर युरोपमा नयाँ जीवन सुरु गर्ने आशमा हजारौँ मोरोक्कन नागरिकले सामुद्रिक सीमा पार गरेका छन्। तर, युरोप प्रवेश गर्ने उनीहरूको सपना पूरा हुन सकेन र धेरैजसो घर फर्किन बाध्य भएका छन्।
बिहीबार र शुक्रबार मात्र करिब ६० हजार मानिसले सीमा पार गरेका थिए। स्पेनी अधिकारीहरूले सबैलाई फिर्ता जान आदेश दिएपछि केही घण्टामै करिब ४५ हजार मानिस मोरोक्को नै फर्किएका छन्। यसरी पौडी खेलेर सीमा पार गर्ने क्रममा ५० भन्दा बढी मानिसको ज्यान गएको छ।
शिक्षक बन्न अध्ययन गरिरहेका २१ वर्षीय अब्दुलह बुजी पनि राम्रो भविष्यको खोजीमा त्यहाँ पुगेका थिए। उनले मोरोक्कोमा राम्रो अवसर नभएको र स्पेनले नयाँ मौका दिने आश गरेको बताए। तर, पक्राउ पर्ने र फिर्ता पठाइने डरले उनी आफ्नो सामान र पैसा गुमाएरै निराश हुँदै घर फर्किए। अर्का ३३ वर्षीय अहमद करिमले पनि स्वदेशमा काम नपाएको र विदेश जान पनि गाह्रो भएको गुनासो गरे।
सामाजिक सञ्जालमा सेउटा जाने तरिका र त्यहाँ बस्न के बोल्ने भन्नेबारे जानकारी फैलिएपछि धेरै मानिस सीमातर्फ ओइरिएका थिए। एक्कासि यति धेरै मानिस प्रवेश गरेपछि सेउटामा ठूलो मानवीय सङ्कट देखिएको छ। स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सडकमा सेना र प्रहरी खटाइएको छ।
कतिपय मानिस भने नयाँ जीवन सुरु गर्न नभई आफ्ना हराएका आफन्त खोज्न त्यहाँ पुगेका छन्। ३३ वर्षीया इक्रा खाइ पनि हराइरहेका आफ्नो भदाको खोजी गर्दै सेउटा पुगेकी छिन्, तर उनी जीवित छन् या छैनन् भन्ने अझै पत्ता लागेको छैन।