१९ साउन २०८३, मङ्लबार
4 August 2026, Tuesday

अर्थतन्त्र र इरान मुद्दामा आलोचना भए पनि आप्रवासनमा ट्रम्पलाई रिपब्लिकनको बलियो साथ

अर्थतन्त्र र इरान मुद्दामा आलोचना भए पनि आप्रवासनमा ट्रम्पलाई रिपब्लिकनको बलियो साथ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्थतन्त्र र इरान मामिलामा आलोचना भए पनि आप्रवासन मुद्दामा भने आफ्नै पार्टी रिपब्लिकनको बलियो साथ कायमै रहेको छ। एपी-एनओआरसीले गरेको नयाँ जनमत सर्वेक्षण अनुसार अधिकांश रिपब्लिकनहरूले ट्रम्पको आप्रवासन नीतिको समर्थन गरेका छन्।

सर्वेक्षण अनुसार करिब ८० प्रतिशत रिपब्लिकनहरूले ट्रम्पले आप्रवासन क्षेत्रमा गरेको कामलाई सही भनेका छन्। दोस्रो कार्यकालको सुरुमा यो ९० प्रतिशत भए पनि कडा कारबाही र विवादका बाबजुद उनको समर्थन आधार खासै खस्किएको छैन। तर, समग्र अमेरिकी नागरिकहरूमा भने ट्रम्पको आप्रवासन नीतिको समर्थन ३९ प्रतिशतमा सीमित भएको छ।

सर्वेक्षणमा सहभागी आधा जति अमेरिकीहरूले गैरकानुनी रूपमा बसेका मानिसहरूलाई देश निकाला गर्ने ट्रम्पको कदम अति नै बढी भएको बताएका छन्। अध्यागमन अधिकारीहरूसँगको झडपमा मानिसहरूको ज्यान गएपछि र शहरहरूमा सुरक्षाकर्मी परिचालन गरिएपछि यो विषय थप विवादित बनेको हो।

यस्तै, अर्थतन्त्र र स्वास्थ्य क्षेत्रमा भने ट्रम्पको लोकप्रियता झनै कमजोर देखिएको छ। अर्थतन्त्रतर्फ ट्रम्पको कामलाई जम्मा ३२ प्रतिशत अमेरिकीले मात्रै रुचाएका छन्। स्वास्थ्य क्षेत्रमा पनि उनलाई ३० प्रतिशतले मात्रै समर्थन गरेका छन्। आउँदो मध्यावधि चुनावमा विरोधी डेमोक्र्याटहरूले महँगी, स्वास्थ्य बजेट कटौती र इरान युद्धलाई मुख्य मुद्दा बनाउने तयारी गरेका छन्।