२० साउन २०८३, बुधबार
5 August 2026, Wednesday

न्युयोर्कमा संघीय एजेन्टलाई मास्क लगाउन प्रतिबन्ध लगाउन नमिल्ने अदालतको फैसला

न्युयोर्कमा संघीय एजेन्टलाई मास्क लगाउन प्रतिबन्ध लगाउन नमिल्ने अदालतको फैसला

न्युयोर्क- न्युयोर्क राज्यले संघीय एजेन्टहरूलाई अनुहार छोप्ने मास्क लगाउनबाट रोक्न नसक्ने त्यहाँको एक संघीय अदालतले फैसला गरेको छ। अदालतले एजेन्टहरूलाई देखिने गरी परिचयपत्र लगाउन बाध्य पार्न पनि नमिल्ने बताएको छ।

सोमबार फैसला सुनाउँदै अमेरिकी जिल्ला न्यायाधीश मे डी अगोस्टिनोले यो विषय संविधानसँग जोडिएको बताइन्। उनले संविधान अनुसार राज्य सरकारले संघीय कानुन कार्यान्वयनमा हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारिन्।

न्युयोर्ककी गभर्नर क्याथी होचुलले गत मे महिनामा बजेटमार्फत यो नियम ल्याएकी थिइन् र यो नियम जुन महिनादेखि लागू भएको थियो। अदालतको निर्णयपछि गभर्नर होचुल र महान्यायाधिवक्ता लेटिसिया जेम्सले मास्क लगाएका एजेन्टहरूले न्युयोर्कलाई सुरक्षित नबनाउने बताए। उनीहरूले यस विषयमा थप कानुनी विकल्प खोजिरहेको जानकारी दिए।

यसअघि क्यालिफोर्नियामा पनि यस्तै कानुन लागू गर्न खोज्दा अदालतले रोक लगाएको थियो। अध्यागमन अधिकारीहरूले आप्रवासीहरूलाई पक्राउ गर्ने क्रम बढाएपछि क्यालिफोर्निया, न्युयोर्क लगायतका राज्यहरूले संघीय एजेन्टहरूमाथि कडाइ गर्न यस्ता नियमहरू ल्याएका हुन्।