२० साउन २०८३, बुधबार
5 August 2026, Wednesday

न्युजर्सीको अध्यागमन हिरासतमा एल साल्भाडोरका नागरिकको मृत्यु

न्युजर्सीको अध्यागमन हिरासतमा एल साल्भाडोरका नागरिकको मृत्यु

न्युयोर्क- न्युजर्सीस्थित एक अध्यागमन हिरासतमा एल साल्भाडोरका ४१ वर्षीय एडविन लोपेज-कोर्नेजोको मृत्यु भएको छ। अवैध रूपमा अमेरिका प्रवेश गरेको आरोपमा जुन १८ मा पक्राउ परेका उनलाई नेवार्कको डेलेनी हलमा राखिएको थियो। अधिकारीहरूले उनको मृत्यु शनिबार भएको बताए।

यस हिरासतमा बस्नेहरूको अवस्था र उनीहरूले पाउने स्वास्थ्य उपचारलाई लिएर लामो समयदेखि विरोध हुँदै आएको छ। मृत्युको वास्तविक कारण अझै खुलेको छैन। तर, अमेरिकी सिनेटर कोरी बुकरले त्यहाँको अवस्था निकै दयनीय रहेको भन्दै उक्त हिरासत तुरुन्तै बन्द गर्न माग गरे।

अध्यागमन अधिकारीहरूले भने एडविनले हिरासतमा उचित स्वास्थ्य उपचार पाएको दाबी गरे। न्युजर्सीकी गभर्नर मिकी शेरिलले घटनाको बारेमा सत्यतथ्य बुझ्ने प्रयास भइरहेको बताइन्। उनले हिरासतभित्रको स्वास्थ्य अवस्था जाँच गर्न खोज्दा आफूहरूलाई लगातार अवरोध भइरहेको गुनासो गरिन्।

राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता देशभरका अध्यागमन हिरासतमा कम्तीमा ५६ जनाको ज्यान गइसकेको छ। डेलेनी हलमै ज्यान गुमाउने उनी दोस्रो व्यक्ति हुन्। बन्दीहरूले राम्रो बासस्थान र औषधी उपचारको माग गर्दै केही समयअघि भोक हडताल समेत गरेका थिए।