अमेरिकामा ट्रक चालकमाथि कडाइ: ५१ जना अध्यागमनको नियन्त्रणमा, अङ्ग्रेजी नजान्ने ३६ जनालाई कारबाही
- २० साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको ट्रम्प प्रशासनले ट्रक व्यवसायमा रहेका अवैध आप्रवासी र अङ्ग्रेजी भाषा नजान्ने चालकमाथि कारबाही तीव्र पारेको छ। ‘अपरेसन हाइवे सिल्ड’ नाम दिइएको यो जाँच अभियान सुरुमा फ्लोरिडाबाट थालिएको थियो भने अहिले इलिनोइस, इन्डियाना, आयोवा र ओहायो राज्यसम्म विस्तार गरिएको छ।
यातायात विभागले गरेको यो कारबाहीका क्रममा ३ हजार ४८७ पटक गाडीहरू रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा ७६६ वटा असुरक्षित गाडी र चालकलाई काममा रोक लगाइएको छ। ५१ जनालाई अध्यागमनले नियन्त्रणमा लिएको छ भने ४७ जनाविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ। त्यस्तै, ३९ जना जेल परेका छन् र अङ्ग्रेजी भाषाको नियम उल्लङ्घन गरेको भन्दै ३६ जनालाई कारबाही गरिएको छ। अभियानकै क्रममा करिब १० लाख डलर बराबरको चोरी भएको सामान पनि बरामद गरिएको छ।
अङ्ग्रेजी भाषा पढ्न र बोल्न नजान्ने चालकले सडकका महत्त्वपूर्ण सूचना र सङ्केतहरू बुझ्न नसक्ने भएकाले दुर्घटनाको जोखिम धेरै हुने अधिकारीहरूले बताए। द्रुत गतिमा भारी सामान बोकेर गाडी चलाउँदा सडकका सङ्केतहरू तत्काल बुझेर प्रतिक्रिया दिनुपर्ने हुन्छ।
सङ्घीय मोटर सुरक्षा प्रशासक डेरेक बार्सले यो नियम पहिलेदेखि नै लागू रहेको र यो पूर्ण रूपमा सडक सुरक्षासँग जोडिएको विषय भएको बताए। कुनै दुर्घटना हुँदा वा सडकमा समस्या आउँदा चालकले सङ्केत पढेर गाडीको गति कम गर्न र सही निर्णय लिन सक्नुपर्ने उनको भनाइ छ।