न्युयोर्क- अमेरिकी अध्यागमनले आफ्नो ‘फाइदा’ हेरेर मात्र भिडियो सार्वजनिक गर्ने
- २२ साउन २०८३
- १ मिनेटको पढाई
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले आफ्ना सबै अधिकारीलाई आउँदो सेप्टेम्बर अन्त्यसम्ममा शरीरमा जडान गरिने क्यामेरा (बडी क्यामेरा) दिने भएको छ। तर, ती क्यामेराले खिचेका भिडियो संस्थाको ‘हित’ मा भए मात्र सार्वजनिक गर्ने नीति उसले बनाएको छ।
जनताले तिरेको करोडौँ रकम खर्चेर ती क्यामेरा किनिएका हुन्। नयाँ नीति अनुसार गोली चलेका वा मानिसको ज्यान गएका गम्भीर घटनाका भिडियो पनि संस्थाका प्रमुखले चाहे मात्र बाहिर ल्याइनेछ। विज्ञहरूले यो नीतिले प्रहरीलाई राम्रो देखाउने भिडियो मात्र सार्वजनिक गर्न र आफ्ना गल्ती लुकाउन मद्दत गर्ने बताए।
नियम अनुसार अधिकारीहरूले कसैलाई पक्राउ गर्दा, खानतलासी गर्दा वा आपतकालीन अवस्थामा अनिवार्य रूपमा क्यामेरा खोल्नु पर्छ। भिडियो सार्वजनिक गरिहाले पनि अधिकारीको पहिचान नखुलोस् भनेर अनुहार, नाम र ब्याज नम्बर भने गोप्य राखिनेछ।
हालै आइसका अधिकारीले चलाएको गोलीबाट दुई जनाको ज्यान गएपछि क्यामेरा अनिवार्य गर्न दबाब बढेको थियो। ती गम्भीर घटनाको कुनै भिडियो खिचिएको थिएन। संसदको निरन्तर दबाबपछि अहिले ३ करोड डलरभन्दा बढी खर्च गरेर अधिकारीलाई क्यामेरा बाँड्न लागिएको हो।