२५ साउन २०८३, सोमवार
10 August 2026, Monday

मिनिसोटाको सिनेट प्राइमरी चुनावमा ट्रम्पको अध्यागमन नीतिको प्रभाव

मिनिसोटाको सिनेट प्राइमरी चुनावमा ट्रम्पको अध्यागमन नीतिको प्रभाव

न्युयोर्क- अमेरिकाको मिनिसोटामा हुन गइरहेको डेमोक्रेटिक पार्टीको सिनेट प्राइमरी चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिको विषय मुख्य चुनावी मुद्दा बनेको छ। आगामी मङ्गलबार हुने यस चुनावमा अमेरिकी सांसद (कंग्रेसवुमन) एन्जी क्रेग र मिनिसोटाकी लेफ्टिनेन्ट गभर्नर पेगी फ्लानागनबीच कडा प्रतिस्पर्धा हुँदैछ।

केही महिनाअघि ट्रम्प प्रशासनले मिनियापोलिसमा अध्यागमनमा कडाइ गर्दै देशनिकाला अभियान चलाएको थियो। सोही विषयलाई लिएर अहिले दुई उम्मेदवारबीच आरोप–प्रत्यारोप भइरहेको छ।

सांसद क्रेगले अध्यागमन नियममा कडाइ गर्ने ट्रम्पको ‘लेकन राइली एक्ट’ कानुनको पक्षमा मतदान गरेकी थिइन्, जसको उनले अहिले पछुतो मानेकी छन्। प्रगतिशील विचार राख्ने अर्की उम्मेदवार फ्लानागनले भने सोही मतदानलाई लिएर क्रेगको कडा आलोचना गर्दै ट्रम्पको उक्त नीतिले समुदायलाई त्रसित बनाएको बताएकी छन्।

यता, क्रेगले भने राज्य सरकारमा रहेर काम गर्दा फ्लानागनले आर्थिक ठगी र भ्रष्टाचार रोक्न नसकेको भन्दै उनको आलोचना गरेकी छन्। गत बुधबार मोर्गनमा आयोजित ‘फार्मफेस्ट’ कार्यक्रममा पनि दुवै उम्मेदवारले एउटै मञ्चबाट आ–आफ्ना भनाइ राखेका थिए। चुनाव नजिकिँदै गर्दा दुवै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा तान्न कडा प्रतिस्पर्धामा उत्रिएका छन्।