२५ साउन २०८३, सोमवार
10 August 2026, Monday

वकील नहुँदा अमेरिकामा आप्रवासीहरू देश निकालाको उच्च जोखिममा

वकील नहुँदा अमेरिकामा आप्रवासीहरू देश निकालाको उच्च जोखिममा

न्युयोर्क- अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै कडा अध्यागमन नीतिका कारण कानुनी सहायता नपाएका आप्रवासीहरू देश निकालाको उच्च जोखिममा परेका छन्। अदालतहरूले शरणार्थी आवेदन धमाधम अस्वीकार गरिरहेका छन् भने वकील बिना अदालत पुग्नेहरूले ठूलो समस्या भोग्नुपरेको छ।

एक संस्थाको तथ्यांक अनुसार अमेरिकाका अध्यागमन अदालतमा बाँकी रहेका करिब ३२ लाख मामिलामध्ये ५२ प्रतिशतसँग कुनै वकील छैनन्। अध्ययन अनुसार वकील नभएका १९ प्रतिशत आप्रवासीले मात्र शरण वा बस्ने अनुमति पाएका छन्, जबकि वकील भएकाहरूको सफलता दर ४७ प्रतिशत छ।

अदालतमा कानुनी परामर्श नपाउँदा आप्रवासीहरूले प्रक्रिया नै नबुझी मुद्दा गुमाउनुपरेको छ। कतिपय आप्रवासीहरू लाखौँ रुपैयाँ असुल्ने नक्कली वकीलको ठगीमा समेत परेका छन्। त्यस्तै, अदालत परिसरबाटै अध्यागमन अधिकारीहरूले आप्रवासीलाई पक्राउ गर्ने र सुनुवाइको समय घटाउने गर्दा धेरैले मौका नै नपाई देश निकाला हुनुपर्ने अवस्था बनेको छ।

केही सामाजिक संस्था र स्वयम्सेवकहरूले नि:शुल्क कानुनी परामर्श र कागजात भर्न सहयोग गरिरहेका छन्। तर यस्ता वकीलको संख्या निकै कम भएकाले र लामो समय पर्खनुपर्ने भएकाले धेरै आप्रवासीहरू अझै पनि कानुनी पहुँचबाट टाढा नै छन्।