अमेरिकामा प्रेमिकाको हत्या गरी भागेका भारतीय विद्यार्थी जर्मनीमा पक्राउ
- २५ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको एरिजोनामा १९ वर्षीया प्रेमिका जुलिसा सालाजारको हत्या गरेर भागेका २० वर्षीय भारतीय विद्यार्थी वरुण ब्याचिगारी जर्मनीमा पक्राउ परेका छन्। उनी अमेरिकाबाट भागेर भारत जाने क्रममा जर्मनीमा समातिएका हुन्।
प्रहरीका अनुसार वरुणले एरिजोना विश्वविद्यालय नजिकैको अपार्टमेन्टमा जुलिसाको घाँटी थिचेर हत्या गरेका थिए। हत्यापछि उनले प्रेमिकाको फोन र क्रेडिट कार्ड चोरेका थिए। अपराध लुकाउन उनले प्रेमिकाकै फोनबाट उनकी आमालाई म्यासेजसमेत पठाएका थिए। म्यासेज शङ्कास्पद लागेर परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।
सन् २०२४ को जनवरीमा विद्यार्थी भिसा (एफ-१) मा अमेरिका पुगेका वरुणलाई झगडा गरेको कारण विश्वविद्यालयले यसअघि नै निष्कासन गरेको थियो। उनीमाथि यसअघि पनि घरेलु हिंसा र दुर्व्यवहारको आरोप लागेको थियो। एफबिआईको सहयोगमा पक्राउ परेका उनलाई अब अमेरिका फर्काएर प्रथम श्रेणीको हत्या मुद्दा चलाउने तयारी भइरहेको छ।