अध्यागमन अधिकारीलाई विद्युतीय झट्का दिने पन्जा दिइँदै, अधिकारकर्मीहरू चिन्तित
- २७ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले आफ्ना अधिकारीहरूलाई विद्युतीय झट्का दिने विशेष पन्जा दिने योजना बनाएको छ। आक्रामक व्यक्तिहरूलाई सजिलै नियन्त्रणमा लिन यो पन्जाको प्रयोग गरिने छ।
आन्तरिक सुरक्षा विभागले सोमबार प्रकाशित गरेको सूचना अनुसार, आइसले आगामी मार्चसम्ममा यस्ता हजारौँ पन्जाहरू किन्न २ करोड डलरसम्म खर्च गर्दैछ। ‘ग्लोभ’ नाम दिइएको यो पन्जाले मानिसको छालामा छुनेबित्तिकै विद्युतीय झट्का दिन्छ। यसले व्यक्तिलाई केही सेकेन्डमै नियन्त्रणमा लिन सघाउने उत्पादक कम्पनीले जनाएको छ।
तर, मानवअधिकारवादीहरूले भने यो योजनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिका बेला आइस अधिकारीहरूले बल प्रयोग गरेको भन्दै पहिलेदेखि नै आलोचना हुँदै आएको छ।
अध्ययनकर्ता जोन पिटर्सका अनुसार यो पन्जाले मौरीले चिलेजस्तो दुखाइ दिन्छ र विरोध गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रभावकारी हुन्छ। पन्जाको निर्माता कम्पनीले भने यसलाई सजाय दिन वा बालबालिका, गर्भवती, वृद्ध र अपाङ्गता भएका जोखिमपूर्ण समूहमा प्रयोग गर्न नहुने चेतावनी दिएको छ।
नागरिक अधिकार समूहकी प्रतिनिधि जेन रोल्निक बोर्चेत्ताले आइस अधिकारीहरूले यसको सही प्रयोग गर्नेमा जनतालाई विश्वास नभएको बताइन्। उनले भनिन्, “आइसले सानो बटन थिचेरै मानिसलाई धेरै पीडा दिनेछ, जुन अरूले देख्न पनि पाउँदैनन्। यस्तो पन्जाले सर्वसाधारणलाई ठूलो हानि पुर्याउने छ।”