न्युयोर्क- नेपाल आदिवासी जनजाति महासंघ (फिफना) अमेरिकाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस न्युयोर्कमा हजारौँ नेपाली तथा शुभेच्छुकको सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ। विविध जातजाति, भाषा, धर्म, संस्कृति र मौलिक पहिचानलाई समेट्दै आयोजित कार्यक्रममा आकर्षक झाँकी, परम्परागत पोसाक, सांस्कृतिक नृत्य तथा विभिन्न कलात्मक प्रस्तुतिले न्युयोर्कको व्यस्त परिवेशमा नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक स्वरूपलाई जीवन्त रूपमा प्रस्तुत गर्यो।
कार्यक्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी धर्मगुरु खेन रिन्पोचे सांगे रंगजुङ विशिष्ट अतिथि तथा समिर महर्जन ग्रान्ड मार्सलका रूपमा सहभागी थिए। आयोजक संस्थाका अध्यक्ष पासाङ दोर्जे शेर्पा (एपी लामा) ले प्रमुख तथा विशिष्ट अतिथिहरूलाई दोसल्ला ओढाएर सम्मान गरे। महासंघका महासचिव सुमन थाम्सुहाङ लिम्बुले कार्यक्रम सञ्चालन गरे भने वरिष्ठ उपाध्यक्ष शम्भु राईले स्वागत मन्तव्य राखे।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष पासाङ दोर्जे शेर्पा (एपी लामा) ले नेपालका आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि राज्यको भूमिका अझ सशक्त र परिणाममुखी हुनुपर्ने बताए। उनले आदिवासी जनजातिका साझा विषय तथा सवाललाई प्रभावकारी ढंगले सम्बोधन गर्न नेपाल सरकारले छुट्टै ‘आदिवासी जनजाति मन्त्रालय’ गठन गर्नुपर्ने माग अघि सारे।
अध्यक्ष शेर्पाले आदिवासी जनजातिका अधिकार प्राप्तिका लागि विगतमा अग्रजहरूले गरेको संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै ती संघर्षबाट प्राप्त संवैधानिक अधिकारलाई केवल दस्तावेजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे। संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट नीति, पर्याप्त संस्थागत संरचना र राज्यको दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
उनले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, कला, परम्परा र सम्पदा कुनै एउटा जाति वा समुदायको मात्र सम्पत्ति नभई समग्र नेपालको अमूल्य राष्ट्रिय सम्पदा भएको उल्लेख गरे। नेपालको विविधताभित्र रहेको एकता नै देशको मौलिक शक्ति र पहिचान भएको बताउँदै उनले यही विविधतालाई सम्मान र संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
न्युयोर्कको व्यस्त सहरमा प्रस्तुत गरिएको भव्य सांस्कृतिक झाँकी तथा विविध कार्यक्रमले प्रवासमा रहेका नेपाली आदिवासी जनजाति समुदाय आफ्नो मौलिक पहिचान, अधिकार र सांस्कृतिक अस्तित्वप्रति सचेत, जागरुक र संगठित रहेको सन्देश दिएको आयोजकले जनाएको छ। कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पुर्ख्यौली पहिचानसँग जोडिन पनि प्रेरणा दिएको छ।
कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, युवा, विद्यार्थी, कलाकार, सञ्चारकर्मी तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई प्रवासमा पनि संरक्षण र पुस्तान्तरण गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।
३२औँ विश्व आदिवासी दिवस सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, ग्रान्ड मार्सल, विभिन्न संघ–संस्थाका प्रतिनिधि, प्रायोजक, सहयोगी, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीप्रति नेपाल आदिवासी जनजाति महासंघ (फिफना) अमेरिकाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।