२८ साउन २०८३, बिहिबार
13 August 2026, Thursday

नक्कली विवाह गरेर ग्रिन कार्ड दिलाउने गिरोहविरुद्ध अमेरिकामा मुद्दा दर्ता

नक्कली विवाह गरेर ग्रिन कार्ड दिलाउने गिरोहविरुद्ध अमेरिकामा मुद्दा दर्ता

न्युयोर्क- अमेरिकी नागरिकसँग नक्कली विवाह गराएर विदेशी नागरिकलाई ग्रिन कार्ड दिलाउने गिरोहका ११ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। अमेरिकी न्याय मन्त्रालयका अनुसार न्युयोर्कबाट सञ्चालित यो गिरोहले करोडौँ डलरको ठगी धन्दा चलाउँदै आएको थियो।

यो गिरोहले विगत एक दशकमा एक हजारभन्दा बढी चिनियाँ नागरिकलाई नक्कली विवाहका माध्यमबाट ग्रिन कार्ड दिलाएको दाबी गरिएको छ। ग्रिन कार्ड लिन चाहने आप्रवासीसँग गिरोहले प्रतिव्यक्ति एक लाख डलरसम्म असुल गर्ने गरेको थियो। त्यस्तै, नक्कली विवाह गर्न तयार हुने अमेरिकी नागरिकलाई भने ३० हजार डलरसम्म दिने गरिएको अदालतको कागजातमा उल्लेख छ।

अधिकारीहरूका अनुसार यो अमेरिकी इतिहासकै ठूलो विवाह ठगी काण्डहरूमध्ये एक हो। गिरोहले नक्कली विवाह गराएपछि सक्कली जस्तै देखाउन विभिन्न रेस्टुरेन्टहरूमा पारिवारिक फोटो खिचाउने र स्थायी आवासका लागि कागजात तयार पारिदिने काम गर्थ्यो।

अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले यो वर्षौंदेखि चल्दै आएको संगठित अपराध भएको बताए। गैरकानुनी रूपमा नागरिकता वा स्थायी आवासीय अनुमति लिन नसक्ने मानिसहरूलाई सघाउन यो गिरोहले ठूलो रकम कमाएको उनले जानकारी दिए। न्युयोर्कको अदालतमा दर्ता भएको मुद्दामा नक्कली विवाह गराउनेसहित ११ जनालाई प्रतिवादी बनाइएको छ।