२८ साउन २०८३, बिहिबार
13 August 2026, Thursday

अध्यागमन अधिकारीलाई विद्युतीय झट्का दिने पन्जा दिने योजनाको कडा विरोध

अध्यागमन अधिकारीलाई विद्युतीय झट्का दिने पन्जा दिने योजनाको कडा विरोध

न्युयोर्क- अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले आफ्ना अधिकारीहरूलाई विद्युतीय झट्का दिने पन्जा उपलब्ध गराउने योजना बनाएको छ। यसका लागि १ करोडदेखि २ करोड डलर खर्च गरिनेछ। तर यो कुरा बाहिरिएपछि अधिकारकर्मी र नेताहरूले यसलाई अनावश्यक र क्रूर भन्दै कडा विरोध गरेका छन्।

यो पन्जा हेर्दा सामान्य जस्तै हुन्छ। तर अधिकारीले बटन थिचेपछि यसले मानिसको छालामा अत्यधिक दुख्ने विद्युतीय झट्का दिन्छ। अटेरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन यसको प्रयोग गर्न लागिएको हो। यसले शरीरमा डढेको दाग भने बसाउँदैन।

न्युयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्सले बुधबार यो योजनाप्रति कडा आक्रोश व्यक्त गरिन्। उनले कसैले यो पन्जाको दुरुपयोग गरेमा फौजदारी र देवानी कारबाही भोग्नुपर्ने चेतावनी दिइन्। त्यस्तै, प्रमिला जयपाल लगायतका केही सांसदहरूले आइसलाई यस्तो खतरनाक हतियार नचाहिने भन्दै यसले कसैलाई सुरक्षित नबनाउने बताए। यता अध्यागमन कार्यालयले भने देशबाट गैरकानुनी आप्रवासीलाई हटाउन र अधिकारीहरूको सुरक्षाका लागि यस्ता उपकरण चाहिएको प्रस्ट्याएको छ।

यो पन्जा बुढाबुढी, बालबालिका, गर्भवती र अपाङ्गता भएका व्यक्तिमा प्रयोग गर्न नहुने उत्पादक कम्पनीको चेतावनी छ। तर यसको दुरुपयोग हुन सक्ने डर धेरैले व्यक्त गरेका छन्। सन् २०२४ मा जेलमा एक ४३ वर्षीय पुरुषलाई यो पन्जाले २७ पटकसम्म झट्का दिँदा उनको मृत्यु भएको भन्दै अहिले अदालतमा मुद्दा चलिरहेको छ। पूर्व अध्यागमन अधिकारी र कानुनका जानकारहरूले पनि सानातिना घटनामा समेत यो हतियारको गलत प्रयोग हुन सक्ने भन्दै चिन्ता जनाएका छन्।