देशनिकाला गर्न विमानमा राखिएकी अमेरिकी सैनिककी श्रीमती बीचैबाट फर्काइइन्
- ३० साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी सैनिककी श्रीमती माइसा लोपेस एलियासरलाई देशनिकाला (डिपोर्टेसन) गर्न लागिएको उडानबाट बीचैमा रोकेर रिहा गरिएको छ। एक महिनाभन्दा बढी समय अध्यागमन हिरासतमा बिताएपछि उनी लुजियानास्थित आफ्नो घर फर्किएकी हुन्।
बुधबार उनलाई आफ्नै देश ब्राजिल पठाउन विमानमा राखिएको थियो। तर उडानकै क्रममा अमेरिकी अध्यागमन अधिकारीलाई कसैको फोन आएपछि उनलाई बीच बाटोबाटै फर्काइएको हो। अन्य बन्दीहरूलाई ब्राजिलमा झारिए पनि उनलाई भने अमेरिका नै फर्काइएको थियो।
उनका श्रीमान् तथा अमेरिकी सेनाका स्टाफ सार्जेन्ट एलेक्सिस जारामिल्लोले कसले फोन गर्यो भन्ने थाहा नभए पनि आफ्नी श्रीमती फर्किँदा खुसी लागेको बताए। तर उनीहरू अझै डराइरहेका छन्। सोमबार अध्यागमनमा अर्को भेटघाटको समय तोकिएकाले फेरि हिरासतमा जानुपर्ने हो कि भन्ने डर माइसामा छ। उनले हिरासतमा आफूलाई जनावरको जस्तो व्यवहार गरिएको र यो घटना एउटा डरलाग्दो सपना जस्तो लागेको बताइन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सैन्य परिवारलाई दिइँदै आएको सुरक्षा नीति हटाएपछि माइसा जस्ता धेरै सैनिकका परिवार पक्राउ परेका छन्। सन् २०१९ मा पर्यटक भिसामा अमेरिका आएर भिसा अवधि सकिएपछि पनि बसेको भन्दै उनलाई देशनिकालाको आदेश दिइएको थियो। उनको रिहाइको लागि डेमोक्रेटिक सिनेटर मार्क केली लगायतले पहल गरेका थिए।