आइस खारेज गर्ने कि सुधार गर्ने भन्नेमा अमेरिकी डेमोक्र्याट्सभित्र मतभेद
- ३१ साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइस) लाई खारेज गर्ने वा सुधार गर्ने भन्ने विषयमा डेमोक्र्याटिक पार्टीभित्र मतभेद देखिएको छ। टेक्सासको अस्टिनमा भएको ‘डेमोक्र्याटिक नेसनल कमिटी’को बैठकमा यस विषयमा फरक-फरक धारणा आएका छन्।
पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन नीतिको कडा विरोध गरे पनि मध्यावधि चुनावअघि पार्टीभित्रै दुई धार देखिएको हो। बैठकमा आइसमा ‘ठोस सुधार’ गर्ने र पूरै ‘खारेज गर्ने’ दुवै प्रस्ताव पारित गरिएको छ। पछिल्लो समय आइसका अधिकारीहरू जोडिएका घटनामा केही व्यक्तिको ज्यान गएपछि यो बहस फेरि चर्किएको हो।
यो मतदान बाध्यकारी भने छैन। पार्टीको आधिकारिक नीति सन् २०२८ को महाधिवेशनबाट मात्र तय हुनेछ। त्यसैले अहिले उम्मेदवार र सांसदहरूले आफ्नै किसिमले धारणा बनाउन पाउनेछन्।
संस्था खारेज गर्नुपर्ने पक्षका नेताहरूले जनतामाझ पार्टीको प्रस्ट अडान हुनुपर्ने बताएका छन्। तर, केही नेताहरूले भने यसले मतदाता भड्किन सक्ने भन्दै चुनाव जित्नका लागि व्यावहारिक हुनुपर्ने धारणा राखेका छन्।
डेमोक्र्याटिक पार्टीका अध्यक्ष केन मार्टिनले सुधार वा खारेज जे भए पनि ट्रम्प प्रशासनले अध्यागमनमा गरिरहेको कडाइ रोकिनुपर्छ भन्नेमा पार्टीका सबै नेता एकमत रहेको बताए।