स्पेन प्रवेश गर्न खोज्ने झण्डै ३०० आप्रवासीलाई मोरोक्कोले गर्यो पक्राउ
- ०१ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- स्पेनको सेउटा सहर प्रवेश गर्न खोज्ने झण्डै ३०० जना आप्रवासीलाई मोरोक्कोका सुरक्षाकर्मीले पक्राउ गरेका छन्। मोरोक्कोको सरकारी टेलिभिजनका अनुसार, जमिन र समुद्रको बाटो हुँदै स्पेन जान खोज्ने उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सब-साहारा अफ्रिकाका २९४ जना आप्रवासी छन्। आप्रवासीलाई सीमा पार गराउन सहयोग गरेको आरोपमा अन्य ६१ जना मोरोक्कोका नागरिक पनि पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा सेउटा जानका लागि भिड जम्मा हुन आह्वान गरिएका पोस्टहरू फैलिएपछि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। दुई हप्ताअघि मात्रै गरिबी र गलत सूचनाका कारण हजारौं आप्रवासीहरू सेउटा प्रवेश गर्न खोज्दा ठूलो संकट निम्तिएको थियो। उक्त घटनामा सीमाका दुवै तर्फ गरी कम्तीमा ९० जनाको ज्यान गएको थियो।
अफ्रिकाका विभिन्न देशबाट द्वन्द्व र गरिबी छल्दै युरोपमा राम्रो अवसर खोज्न हजारौं मानिस हरेक वर्ष मोरोक्को पुग्छन्। यस्ता आप्रवासी गतिविधि रोक्न मोरोक्कोले सीमा क्षेत्रमा दैनिक २० हजारभन्दा बढी सुरक्षाकर्मी खटाउने गरेको छ।