एरिजोनामा सीमा पर्खाल बनाउन अदालतको अनुमति
- ०१ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- एरिजोना राज्यमा म्याक्सिको सीमामा पर्खाल बनाउने बाटो खुलेको छ। स्थानीय ‘टोहोने ओ’ओधम नेसन’ नामक आदिवासी समुदायले आफ्नो भूमि मिचिने भन्दै दिएको निवेदनलाई अमेरिकी संघीय अदालतले खारेज गरिदिएको छ।
न्यायाधीश रिचार्ड लियोनले सरकारको पक्षमा फैसला सुनाए। उनले सन् १९०७ को एउटा घोषणा अनुसार अन्तर्राष्ट्रिय सीमाको ६० फिटसम्मको जग्गा संघीय सरकारको नियन्त्रणमा रहने बताए। राष्ट्रिय सुरक्षा र विदेश नीतिको कारण देखाउँदै अदालतले सरकारलाई पर्खाल निर्माण अघि बढाउन अनुमति दिएको हो।
यसअघि आदिवासी समुदायले आफ्नो क्षेत्रमा ‘प्रवेश निषेध’ को बोर्ड राख्दै पर्खाल बनाउन आउने कर्मचारीलाई फर्काउने चेतावनी दिएका थिए। उनीहरूको रिजर्भेसन र म्याक्सिकोको सीमा करिब ६२ माइल जोडिएको छ।
ट्रम्प प्रशासनले सीमा सुरक्षा कडा बनाएको बताउँदै आएको छ। होमल्याण्ड सेक्युरिटी विभागले अघिल्लो सरकारको पालाको तुलनामा अहिले सीमामा गैरकानुनी प्रवेश ९४ प्रतिशतले घटेको र यो ३० वर्षयताकै सबैभन्दा कम भएको दाबी गरेको छ।