२ भदौ २०८३, मङ्लबार
18 August 2026, Tuesday

विदेशमा अलपत्र नेपालीको उद्धार र शव ल्याउने कार्यविधि अर्थ मन्त्रालय पुग्यो

विदेशमा अलपत्र नेपालीको उद्धार र शव ल्याउने कार्यविधि अर्थ मन्त्रालय पुग्यो

काठमाडौं- परराष्ट्र मन्त्रालयले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने र शव नेपाल ल्याउने सम्बन्धी नयाँ कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पठाएको छ। मन्त्रालयले गत साता नै यो कार्यविधिमाथि राय सुझाव माग्दै अर्थ मन्त्रालयमा पठाएको हो।

सोमबार प्रतिनिधिसभाको बैठकमा विदेशमा समस्यामा परेका नेपालीको उद्धार र शव फिर्ता ल्याउने कार्यविधि परराष्ट्र मन्त्रालयले अहिलेसम्म नबनाएको भन्दै प्रश्न उठेको थियो। तर मन्त्रालयले कार्यविधि तयार भइसकेको र अर्थबाट सुझाव आउने बित्तिकै यसलाई अघि बढाउने जनाएको छ।

यो नयाँ नियममा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका, घुम्ने भिसामा गएर काम गरेका, सडक दुर्घटनामा परेर घाइते भएका वा कोमामा पुगेका व्यक्तिहरूको उद्धार गर्ने विषय समेटिएको छ। यसैगरी, विद्यार्थी भिसामा गएर समस्यामा परेका र विदेश जाने क्रममा बिच बाटोमै अलपत्र परेका नेपालीलाई पनि उद्धार गरेर स्वदेश फर्काउने कुरा यसमा राखिएको छ।

यो कार्यविधि स्वीकृत भएपछि विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन र समस्यामा परेकाहरूको तत्काल उद्धार गर्न सरकारले छुट्याएको बजेट खर्च गर्न निकै सजिलो हुने मन्त्रालयले बताएको छ।