कोरियाबाट फर्केका युवाको सीप र पुँजी नेपालको विकासमा लगाउनुपर्नेमा जोड
- ०१ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट काम गरेर फर्किएका नेपालीहरूको सीप र पुँजीलाई नेपालको विकासमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्। नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशमा सिकेको ज्ञानले नेपालको आर्थिक अवस्था सुधार्न ठूलो मद्दत गर्ने बताए।
ढकालले कोरियाले ६० वर्षअघि गरिबीबाट जसरी विकास गर्यो, त्यहाँको जस्तै अनुशासित काम गर्ने शैली नेपालमा पनि लागू गर्न सकिने धारणा राखे। हजारौँ युवाले विदेशमा सिकेको अनुभवलाई देश विकासमा लगाउन सरकार र निजी क्षेत्र दुवै मिलेर काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
अहिले नेपालमा जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ। देशभर छरिएर रहेको सानो पुँजीलाई जम्मा गरेर ठूला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड’ स्थापना गरिएको पनि उनले जानकारी दिए। नयाँ व्यवसाय सुरु गर्न चाहने युवाहरूले यस कम्पनीमार्फत लगानी वा साझेदारी गर्न सक्ने उनले प्रष्ट पारे।