टेक्ससको राष्ट्रिय निकुञ्जमा सीमा निर्माण कार्य अस्थायी रूपमा रोकियो
- ०२ भदौ २०८३
- १ मिनेटको पढाई
अमेरिकी सरकारले टेक्ससस्थित ‘बिग बेन्ड राष्ट्रिय निकुञ्ज’ मा भइरहेको सीमा सुरक्षा निर्माणको काम अस्थायी रूपमा रोकेको छ। सीमा तथा भन्सार सुरक्षा निकाय (सीबीपी) का प्रमुख रड्नी स्कटले निकुञ्ज क्षेत्रको स्थलगत अध्ययन र स्थानीयसँग छलफल गर्न काम रोक्न निर्देशन दिए। उनले निकुञ्जको सुरक्षा गर्दै राष्ट्रिय सुरक्षाका विषयलाई सम्बोधन गर्न स्थानीय नेतृत्व र सरोकारवालासँग वार्ता गर्ने बताए।
निकुञ्जको प्राकृतिक वातावरण बिगार्न खोजेको भन्दै लामो समयदेखि स्थानीय बासिन्दा, वातावरणविद् र दुवै राजनीतिक दलका नेताहरूले यो आयोजनाको विरोध गरिरहेका थिए। कठिन भौगोलिक बनावटका कारण यो क्षेत्रबाट अवैध घुसपैठ पहिल्यैदेखि कम हुने गरेको र पर्खाल वा सडक बनाउँदा प्राकृतिक सौन्दर्य तथा ऐतिहासिक सम्पदामा असर पर्ने उनीहरूको भनाइ छ।
टेक्ससका गभर्नर ग्रेग एबोटले पनि गृह सुरक्षा मन्त्रालयसँग कुरा गरेपछि निकुञ्जभित्र पर्खाल नलगाउने सहमति भएको बताए। यद्यपि, वातावरण संरक्षणकर्मीहरूले काम रोकिनुलाई सकारात्मक भने पनि आयोजना पूर्ण रूपमा रद्द नभएसम्म निगरानी जारी राख्ने जनाएका छन्।