युरोप छिर्ने आशमा ज्यान गुमाएका भौतिकशास्त्रका विद्यार्थी, फुटबल खेलाडी र पौडी खेल्न नजान्ने किशोर
- ०२ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- राम्रो जीवनको खोजीमा युरोप पुग्ने सपना देखेका दर्जनौं मोरोक्कन नागरिकले स्पेन प्रवेश गर्ने क्रममा ज्यान गुमाएका छन्। उत्तरी अफ्रिकामा रहेको स्पेनको नियन्त्रणमा रहेको क्षेत्र ‘सेउटा’ प्रवेश गर्न खोज्दा ज्यान गुमाउनेहरूमा भौतिकशास्त्र पढेका एक युवक, एक व्यावसायिक फुटबल खेलाडी र पौडी खेल्नै नजान्ने एक किशोर पनि रहेका छन्।
भौतिकशास्त्रमा स्नातक गरेका ३१ वर्षीय अयुब अक्बिली आफ्नी आमाको शल्यक्रियाको लागि पैसा जुटाउन राम्रो कामको खोजीमा थिए। त्यसैगरी, २८ वर्षीय हम्जा हाइबाउरी युरोप पुगेर ठूलो फुटबल खेलाडी बन्ने सपना देख्थे। अर्का १९ वर्षीय किशोर अब्देलुआहेद इकेनलाई भने पौडी खेल्न आउँदैनथ्यो। साथीले फेसबुकमा राखेका इटालीका तस्बिरहरू देखेर उनी पनि राम्रो जीवनको आशमा युरोप छिर्न हिँडेका थिए।
सामाजिक सञ्जालमा स्पेनको सिमाना खुला भएको भन्ने गलत हल्ला फैलिएपछि उनीहरूजस्तै हजारौं मानिसहरू समुन्द्र पार गरेर वा पर्खाल नाघेर युरोप छिर्न खोजेका थिए। यही भीडमा परेर यी तीनै जनाले ज्यान गुमाए। गरिबी, बेरोजगारी र भ्रमपूर्ण सूचनाका कारण यो दुखद घटना भएको अधिकारीहरूले बताएका छन्। अहिले मृतकका परिवारहरू शव स्वदेश फर्काउने प्रयासमा छन्।