२७ वर्षदेखि अमेरिकामा रहेकी ग्रिनकार्ड धारक भारतीय महिला पक्राउ
- ०६ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- नर्थ क्यारोलाइनामा २७ वर्षदेखि बस्दै आएकी भारतीय मूलकी भेन्कटा वासमसेट्टीलाई अध्यागमन अधिकारीहरूले पक्राउ गरेका छन्। उनी सन् २०१३ देखि अमेरिकाको स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) प्राप्त नागरिक हुन्।
भेन्कटा एक शिक्षिका हुन् र उनी विशेष क्षमता भएका बालबालिकालाई पढाउने काम गर्छिन्। उनका छोराछोरी र नातिनातिना पनि अमेरिकामै छन्। अगस्ट ११ मा नियमित हाजिरीका लागि अध्यागमन कार्यालय पुग्दा उनलाई एक्कासि पक्राउ गरिएको हो। यसअघि गत मे महिनामा अदालतले उनीविरुद्धको देश निकालासम्बन्धी मुद्दा खारेज गरिसकेको थियो।
सन् २०२२ मा आफ्ना बिरामी बुवाआमाको हेरचाह गर्न उनी भारत गएकी थिइन्। त्यहाँ उनलाई कोभिड सङ्क्रमण भयो र अस्पताल भर्ना हुनुपर्यो। बिरामी परेका कारण उनलाई अमेरिका फर्कन करिब ७ महिना लाग्यो। लगातार लामो समय अमेरिका बाहिर बसेको कारण देखाउँदै अध्यागमन अधिकारीहरूले उनले अमेरिकाको स्थायी बसोबास त्यागेको दाबी गरेका हुन्।
उनका वकिल र परिवारले भने यो दाबीलाई अस्वीकार गरेका छन्। उनीहरूले भेन्कटाको घर, काम र परिवार अमेरिकामै रहेको बताए। भेन्कटाको कुनै आपराधिक रेकर्ड छैन र उनी कडा मधुमेहकी बिरामी समेत हुन्। अहिले उनका वकिलहरूले उनलाई तत्काल रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्।