७ भदौ २०८३, आइतवार
23 August 2026, Sunday

अमेरिकाद्वारा २३ सयभन्दा बढी मेक्सिकन नागरिकलाई तेस्रो देश निकाला

अमेरिकाद्वारा २३ सयभन्दा बढी मेक्सिकन नागरिकलाई तेस्रो देश निकाला

न्युयोर्क- अमेरिकाले आफ्ना देशबाट निष्कासन गरेका २३ सयभन्दा बढी मेक्सिकन नागरिकलाई सिधै मेक्सिको नपठाई ग्वाटेमाला र होन्डुरस पुर्‍याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तेस्रो देशमा निष्कासन गर्ने नीति तीव्र बनाएपछि यस्तो संख्या बढेको हो।

ग्वाटेमालाका राष्ट्रपति बर्नाडो आरेभालोले यस वर्ष हालसम्म अमेरिकाबाट निष्कासन गरिएका २,२८४ जना मेक्सिकन नागरिक आफ्नो देश आइपुगेको पुष्टि गरेका छन्। उनीहरूलाई विमानमार्फत ग्वाटेमाला ल्याइएपछि २४ घण्टाभित्र बसबाट मेक्सिकोको दक्षिणी सीमातर्फ पठाइने गरेको छ। त्यसैगरी, दर्जनौं मेक्सिकन नागरिकलाई होन्डुरस समेत पठाइएको छ।

निष्कासनमा परेकाहरू पुनः सिमाना पार गरेर अमेरिका नछिरून् भन्ने उद्देश्यले उनीहरूलाई सिधै मेक्सिको नपठाई मध्य अमेरिकी देशहरूमा पठाइएको अधिकारीहरूले बताएका छन्।

यसअघि निष्कासनमा परेका मेक्सिकनहरूलाई सिधै आफ्नै देश पठाइने गरिन्थ्यो। अमेरिकाको यस कदमप्रति मेक्सिको सरकारले भने विरोध जनाएको छ। आफ्ना नागरिकको सुरक्षित फिर्तीका लागि सम्बन्धित देशहरूसँग समन्वय भइरहेको मेक्सिकोको विदेश मन्त्रालयले जनाएको छ।