८ भदौ २०८३, सोमवार
24 August 2026, Monday

७५ देशका नागरिकलाई भिसा रोक्ने ट्रम्प प्रशासनको नीति अमेरिकी अदालतद्वारा खारेज

७५ देशका नागरिकलाई भिसा रोक्ने ट्रम्प प्रशासनको नीति अमेरिकी अदालतद्वारा खारेज

न्युयोर्क- अमेरिकाको एक संघीय अदालतले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने ट्रम्प प्रशासनको नीति खारेज गरिदिएको छ।

न्युयोर्कस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश ज्यानेट वर्गासले उक्त नीति गैरकानुनी र अधिकार क्षेत्रभन्दा बाहिर गएर ल्याइएको भन्दै खारेज गरेकी हुन्। विदेशमन्त्री मार्को रुबियोले आफ्नो अधिकारको दुरुपयोग गर्दै अध्यागमन तथा राष्ट्रियता ऐन विपरीत भिसा रोक्ने निर्णय गरेको अदालतको ठहर छ।

ट्रम्प प्रशासनले अफगानिस्तान, इरान, रुस, सोमालिया लगायत ७५ देशका नागरिक अमेरिका गएपछि सरकारी सहायतामा निर्भर हुनसक्ने भन्दै उनीहरूको आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको थियो।

न्यायाधीश वर्गासले कानुनअनुसार भिसा दिने वा नदिने अधिकार कन्सुलर अधिकारीहरूमा निहित रहेको प्रष्ट पारेकी छन्। राष्ट्रियताका आधारमा एकमुष्ट भिसा रोक्नु कानुनविपरीत भएको उनले आदेशमा उल्लेख गरेकी छन्।

यस नीतिको विरोधमा दुई गैरनाफामूलक संस्था र ११ जना पीडित व्यक्तिहरूले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतको यस फैसलापछि आप्रवासी अधिकारकर्मीहरूले खुसी व्यक्त गर्दै यसलाई कानुनको शासन र परिवार पुनर्मिलनको जित भनेका छन्।