९ भदौ २०८३, मङ्लबार
25 August 2026, Tuesday

अमेरिकाको भिजिटर भिसा अन्तर्वार्ता १० दिनमै, थप ७५० डलर तिर्नुपर्ने

अमेरिकाको भिजिटर भिसा अन्तर्वार्ता १० दिनमै, थप ७५० डलर तिर्नुपर्ने

न्युयोर्क- अमेरिकाले भिजिटर भिसाको अन्तर्वार्ता छिटो दिन चाहनेहरुका लागि नयाँ परीक्षण कार्यक्रम ल्याएको छ। अब तत्काल यात्रा गर्नुपर्ने मानिसहरुले थप ७५० डलर तिरेर १० दिनभित्रै भिसा अन्तर्वार्ताको पालो पाउन सक्नेछन्। यो नियम सन् २०२६ को डिसेम्बर ३१ सम्म मात्र लागू हुनेछ।

यो सुबिधा लिनको लागि पहिले सामान्य प्रक्रियाबाट १८५ डलर तिरेर अन्तर्वार्ताको मिति तोकेको हुनुपर्छ। त्यसपछि मात्रै थप ७५० डलर तिरेर छिटो पालो लिन सकिन्छ। तर, यो अतिरिक्त पैसा तिर्दैमा भिसा पक्का हुन्छ भन्ने छैन। भिसा पाउनका लागि अन्तर्वार्तामा सबै नियम पूरा गर्नुपर्छ।

साथै, एकपटक छिटो पालो लिएपछि उक्त मिति र समय फेर्न मिल्दैन। यदि तोकिएको समयमा अन्तर्वार्ता दिन गइएन भने तिरेको पैसा फिर्ता हुँदैन।

अहिले यो सुबिधा सबै देशमा लागू भएको छैन। क्यानडा र मेक्सिकोका सबै दूतावाससहित बोगोटा, ग्वाटेमाला सिटी, सान जोसे र तेगुसिगाल्पामा मात्र यो नियम सुरु गरिएको छ। पछि अन्य ठाउँमा पनि यो सुविधा थपिन सक्ने बताइएको छ।