अमेरिकामा जन्मसिद्ध नागरिकता र राहदानीसम्बन्धी नयाँ योजना: आमाबुबाको कानुनी हैसियत अनिवार्य
- ०८ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेश १४१६० (Executive Order 14160) अनुसार अमेरिकी विदेश मन्त्रालयले जन्मसिद्ध नागरिकता तथा राहदानी (पासपोर्ट) सम्बन्धी नयाँ कार्यान्वयन योजना तयार पारेको छ। हाल अदालतको आदेशका कारण यो नियम तुरुन्तै लागू भइसकेको छैन, तर अदालतबाट कार्यान्वयनको अनुमति पाएपछि यो प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
यस योजनाअनुसार, अमेरिकामा गैरकानुनी रूपमा वा अस्थायी हैसियतमा बसोबास गरिरहेका आमाहरूबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्। बच्चा जन्मिँदा आमा अमेरिकी नागरिक, स्थायी बासिन्दा (LPR/ग्रीनकार्ड धारक), अस्थायी स्थायी बासिन्दा, शरणार्थी (Refugee) वा राजनीतिक शरण (Asylee) पाएको व्यक्ति हुनुपर्नेछ। यदि आमासँग यीमध्ये कुनै हैसियत छैन भने, बच्चाको जन्मको समयमा बुबा अनिवार्य रूपमा अमेरिकी नागरिक वा स्थायी बासिन्दा (LPR) हुनुपर्नेछ।
यो नियम लागू भएपछि नयाँ मितिबाट अमेरिकामा जन्मिएका बालबालिकाको पहिलो पटक राहदानी (Form DS-11) आवेदन दिँदा आमाबुबाको नागरिकता वा अध्यागमन हैसियत प्रमाणित गर्ने सक्कल कागजात र त्यसको फोटोकपी पेश गर्नुपर्नेछ। राहदानी अधिकारीहरूले ती कागजात जाँच गरी बच्चाले कानुनबमोजिम नागरिकता प्राप्त गरेको हो वा होइन भन्ने पुष्टि गरेपछि मात्र राहदानी प्रक्रिया अगाडि बढाउनेछन्।