अमेरिकी आप्रवासी भिसा: कुन देशबाट कहाँ आवेदन दिने?
- ०८ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले आप्रवासी (इमिग्रान्ट) भिसाको काम गर्ने विश्वभरका दूतावास र महावाणिज्य दूतावासहरूको पूरा नाम र ठाउँसहितको सूची बाहिर ल्याएको छ। ‘ए’ अक्षरबाट आउने अफगानिस्तानदेखि ‘जेड’ बाट आउने जिम्बाब्वेसम्मका देशहरूको विवरण यसमा राखिएको छ।
यस सूचीअनुसार नेपालका आवेदकले काठमाडौंमै रहेको अमेरिकी दूतावासबाट आफ्नो भिसा प्रक्रिया अघि बढाउन सक्छन्। छिमेकी देश भारतका आवेदकले मुम्बई र नयाँ दिल्लीबाट सेवा लिन सक्छन् भने चीनका नागरिकका लागि ग्वान्जाओ तोकिएको छ। कतिपय देशमा दूतावास नभएका वा आप्रवासी भिसा सेवा नदिने ठाउँका मानिसले भने अर्को देश जानुपर्ने नियम छ। जस्तै, अफगानिस्तानका मानिसले पाकिस्तानको इस्लामाबाद जानुपर्छ भने भुटानका मानिसले भारतको मुम्बईबाट काम गराउनुपर्छ। त्यसैगरी, इरानका नागरिकले टर्कीको अंकारा वा अर्मेनियाको येरेभान पुग्नुपर्ने सूचीमा उल्लेख छ।
देशअनुसार जन्मदर्ता, विवाहदर्ता जस्ता व्यक्तिगत र कानुनी कागजातहरू फरक पर्ने भएकाले आवेदकले आफ्नो ठाउँको दूतावासले मागेअनुसारको थप कागजात बुझाउनुपर्छ। यी सबै कागजातहरू भिसा प्रक्रियाको ९ औं चरणमा नेसनल भिसा सेन्टरमा बुझाउनुपर्ने व्यवस्था छ। कुन देशको लागि कुन कागजात चाहिन्छ भनेर सूचीमा रहेको शहरको नाममा हेरेर थप जानकारी लिन सकिने बताइएको छ।