९ भदौ २०८३, मङ्लबार
25 August 2026, Tuesday

जनसम्पर्क समिति अमेरिकाको नवनिर्वाचित कार्यसमितिलाई न्यूयोर्कमा भव्य स्वागत

जनसम्पर्क समिति अमेरिकाको नवनिर्वाचित कार्यसमितिलाई न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क – नेपाली जनसम्पर्क समिति अमेरिका–न्यूयोर्क च्याप्टरको आयोजनामा नेपाली जनसम्पर्क समिति अमेरिकाको नवनिर्वाचित कार्यसमितिको स्वागत तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अगस्ट २०, २०२६ मा क्वीन्सस्थित ह्वाइट हल (White Hall) मा आयोजित कार्यक्रममा भारी वर्षाका बाबजुद नेपाली समुदायका उल्लेख्य व्यक्तित्व, कांग्रेससँग आबद्ध नेता–कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति अमेरिका–न्यूयोर्क च्याप्टरका सभापति दिनेश भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण च्याप्टरका महामन्त्री सुवास केसीले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे थिए। कार्यक्रममा नेपाली कांग्रेसका उपमहामन्त्री प्रकाश रसाइली, केन्द्रीय सदस्य बाला घिमिरे, सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष खगेन्द्र जीसी, लेखक तथा पत्रकार गेजा शर्मा वाग्लेलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति आनन्द विष्ट, नवनिर्वाचित सभापति मुनिन्द्र निङ्बाङ, नेता बेद खरेल, नवनिर्वाचित उपसभापतिद्वय सञ्जीव श्रेष्ठ र निमा बोन्जन, सहमहामन्त्री अनिता परियार, तथा सदस्यहरू दिनेश डाँगी र मिन खड्कालगायत नवनिर्वाचित पदाधिकारी तथा नेताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा खगेन्द्र जीसी, प्रकाश रसाइली र गुरुराज घिमिरे लगायत वक्ताहरूले समसामयिक राजनीतिक विषय, नेपाली कांग्रेसको प्रवासस्थित संगठनको अवस्था तथा आगामी कार्यदिशाबारे आफ्ना धारणा राखे। वक्ताहरूले प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन आपसी संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनीहरूले अमेरिकामा रहेका नेपाली समुदायका सामाजिक, राजनीतिक तथा समसामयिक सरोकारलाई प्रभावकारी रूपमा सम्बोधन गर्न संगठनबीचको एकता र सहकार्य अपरिहार्य रहेको बताए। साथै, नयाँ नेतृत्वले विगतका अनुभवबाट पाठ सिक्दै सबैलाई समेटेर संगठनलाई थप गतिशील, पारदर्शी र जनमुखी बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाल विद्यार्थी संघका पूर्व सभापति तथा युवा कांग्रेस नेता ध्रुव गौतमले नेपाली कांग्रेसलाई कमजोर आँक्नु विपक्षको ठूलो भूल भएको बताए।

कार्यक्रममा प्रभात ओझा, अमिर जोशी, आङ्छिरिङ शेर्पा, बासु लामिछाने, मोहनकृष्ण श्रेष्ठ, विनोद सुवेदी, टक रुवाली, श्याम कार्की, एपी लामा शेर्पा, ध्रुव गौतम, बेगम पण्डित, नवीन शेरचन लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, नेपाली कांग्रेससँग आबद्ध नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

भारी वर्षाका बाबजुद कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले अमेरिकामा नेपाली जनसम्पर्क समिति तथा नेपाली कांग्रेसप्रति प्रवासी नेपाली समुदायको निरन्तर चासो, विश्वास र समर्थनलाई प्रतिबिम्बित गरेको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा महामन्त्री सुवास केसीले भारी वर्षाका बाबजुद उत्साहजनक सहभागिता जनाई कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, वक्ता, च्याप्टरका पदाधिकारी तथा कार्यसमिति सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरे।

केसीले प्रवासमा नेपाली कांग्रेसको संगठनलाई अझ एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउन एकता, सहकार्य, आपसी सद्भाव र समन्वय आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै पक्षको साथ, सहयोग, सुझाव र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै अध्यक्ष दिनेश भण्डारीले सम्पूर्ण उपस्थित जनमानसलाई धन्यवाद दिँदै जनसम्पर्क समिति अमेरिकाको नवनिर्वाचित समितिलाई बधाई ज्ञापन पनि गरेका थिए।

कार्यक्रमले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना दिँदै प्रवासमा नेपाली कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो। सहभागीहरूले नवनिर्वाचित कार्यसमितिले सबै पक्षलाई समेट्दै आपसी सहकार्य, संवाद र समन्वयका माध्यमबाट नेपाली समुदायको हित तथा संगठनको सुदृढीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।

— बेगम पण्डित
न्यूयोर्क संवाददाता