अमेरिकी सेनामा कार्यरत सैनिककी श्रीमती होन्डुरस निष्कासित
- ०९ भदौ २०८३
- २ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी सेनामा कार्यरत एक सैनिककी श्रीमतीलाई सोमबार उनको जन्मदेश होन्डुरस फर्काइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिका कारण निष्कासित हुने उनी अमेरिकी सैनिककी सातौं आफन्त हुन्।
क्रिष्टि मार्योरी भिल्लाफ्रान्का-ट्रेजोलाई गत जुलाई ११ मा टेक्सासको फोर्ट ब्लिस नजिकैबाट पक्राउ गरिएको थियो। उनका श्रीमान् एवं आर्मी सार्जेन्ट हेडर लियोनेल टुरसियोस जुआरेजले श्रीमती पक्राउ परेपछि आफ्नो सैन्य जिम्मेवारी र ६ वर्षकी छोरीको हेरचाह एकैसाथ गर्न निकै गाह्रो भएको बताए। बिहानको तालिममा जानुको सट्टा अहिले उनले छोरीलाई विद्यालय पुर्याउनु परेको छ। “म आफ्नो देशको सेवा गर्न चाहन्छु, तर परिवार र काम दुवै कसरी सम्हाल्ने भन्ने मलाई थाहा छैन,” उनले भने।
अमेरिकी होमल्यान्ड सेक्युरिटीले क्रिष्टिलाई सम्पूर्ण कानुनी प्रक्रिया पुर्याएरै फिर्ता पठाएको जनाएको छ। सन् २०१६ मा १८ वर्षको उमेरमा अमेरिका प्रवेश गरेकी उनको कुनै आपराधिक रेकर्ड छैन। सन् २०१७ मा अध्यागमन अदालतमा उपस्थित नभएपछि उनलाई देश निकाला गर्ने आदेश दिइएको थियो। तर, अदालतको पत्र नै नपाएकाले आफूलाई यसबारे केही थाहा नभएको उनका श्रीमान् जुआरेजले बताए। सन् २०२२ मा विवाह गरेर स्थायी बसोबास (ग्रीन कार्ड) को लागि निवेदन दिने बेलामा मात्र उनीहरूले यो कुरा थाहा पाएका थिए।
होन्डुरसकै मूल निवासी जुआरेज सन् २०२२ मा अमेरिकी सेनामा भर्ना भएपछि सन् २०२४ मा अमेरिकी नागरिक बनेका थिए। क्रिष्टिका वकिलका अनुसार उनको मुद्दा पुनः खोल्ने अपिल गत मे महिनामा अस्वीकार गरिएको थियो। उनी सैनिकका परिवारलाई अमेरिकामा रहेर ग्रीन कार्डको आवेदन दिन मिल्ने विशेष कार्यक्रमको निर्णय पर्खिरहेकी थिइन्। “हामीले नियम पालना गरिरहेका थियौं, यो समस्या समाधान गर्न आफ्नो तर्फबाट सबै प्रयास गरेका थियौं,” जुआरेजले भने।
यसैबीच, डेमोक्र्याटिक सांसद भेरोनिका एस्कोबारले यो घटनाप्रति दुःख व्यक्त गरेकी छन्। देशका लागि त्याग गर्ने सैनिकलाई देशले नै धोका दिएको महसुस भएको होला भन्दै उनले असन्तुष्टि जनाइन्। ट्रम्पको अघिल्लो कार्यकाल अघि सैनिकका परिवारलाई देश निकालाको आदेश भए पनि कानुनी हैसियत मिलाउने अवसर दिने गरिन्थ्यो।