नेपालमा उद्धार कार्यमा खटिएका आर्नोल्ड भन्छन्: ‘कसैलाई अलपत्र छाड्दैनौँ’
- २२ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सामाजिक सञ्जालमा सोमबार बिहान एक सन्देश लेख्दै आर्नोल्ड आर्नोल्डले नेपालमा एकैपटक धेरै ठाउँमा उद्धारको काम गर्नुपरेको बताएका छन्। उनले आफ्नो जीवनमा यस्तो चुनौती पहिलो पटक सामना गरेको खुलाए। फरक-फरक ठाउँमा जोखिम र अनिश्चितताका बीच मानिसको ज्यान बचाउने प्रयास भइरहेको उनले जानकारी दिए।
भारतको सिल्कियारा सुरुङमा फसेका ४१ जनाको सफल उद्धारलाई सम्झँदै उनले नेपालको अवस्थालाई अझ ठूलो परीक्षाको रूपमा लिएका छन्। उनले भने, “एउटा परीक्षा पास गर्नुको अर्थ परीक्षा सकियो भन्ने होइन, बरु अझ ठूलो जिम्मेवारी थपिनु हो।” पश्चिमी समाजको ‘कर्तव्य’ र एसियाली समाजको ‘धर्म’लाई जोड्दै उनले सफलता निश्चित नभए पनि सही काम गरिरहनु पर्नेमा जोड दिए।
सिल्कियाराको घटनाले असम्भव जस्तो देखिने कुरा पनि सम्भव हुन्छ भन्ने सिकाएको उनले स्मरण गरे। नेपालको अहिलेको अवस्थाले आशालाई अनुशासन र करुणालाई काममा बदल्न सिकाएको उनको भनाइ छ। मानिसको मूल्यांकन कति जनाको ज्यान बचाइयो भन्ने कुराले मात्र नभई, उद्धार गर्न कसैलाई पनि नछाड्ने अठोटले हुने उनले बताए।