जातीय विभेदमा संलग्न दक्षिण अफ्रिकी अधिकारीमाथि अमेरिकाले लगायो भिसा प्रतिबन्ध
- ३१ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाले जातीय विभेदमा संलग्न रहेको आरोपमा दक्षिण अफ्रिकी अधिकारीहरूमाथि नयाँ भिसा प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार यसबारे नयाँ नीति सार्वजनिक गरेका हुन्।
दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक समुदायविरुद्ध हुने विभेद, क्षतिपूर्तिबिना जग्गा कब्जा गर्ने धम्की र जातीय हिंसा भड्काउने अभिव्यक्तिप्रति अमेरिका गम्भीर रहेको रुबियोले विज्ञप्तिमार्फत जनाएका छन्। अमेरिकाले यसअघि पनि त्यस्ता गतिविधिमा संलग्न दक्षिण अफ्रिकी नागरिकमाथि भिसा प्रतिबन्ध लगाउँदै आएको छ।
ट्रम्प प्रशासनले दक्षिण अफ्रिकी सरकारमाथि त्यहाँका श्वेत नागरिकहरूलाई दुर्व्यवहार गरेको आरोप लगाएको छ। यता दक्षिण अफ्रिकी सरकारले भने जग्गा जफत तथा मानिसमाथि दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्दै आएको छ।
यसअघि आफ्नो दोस्रो कार्यकाल सुरु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कथित जातीय भेदभाव र उत्पीडनलाई कारण देखाउँदै दक्षिण अफ्रिकाका पीडितहरूलाई शरणार्थीका रूपमा अमेरिकामा पुनःस्थापना गर्न आदेश दिएका थिए।