१ अशोज २०८३, बिहिबार
17 September 2026, Thursday

अष्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कडाइ, विद्यार्थीका परिवारलाई भिसामा रोक

अष्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कडाइ, विद्यार्थीका परिवारलाई भिसामा रोक

सिड्नी- अष्ट्रेलिया सरकारले विदेशी नागरिकको आवागमनलाई नियन्त्रण गर्न आप्रवासन नीतिमा कडाइ गरेको छ। नयाँ नियमअनुसार अब त्यहाँ अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीले पहिले जस्तो आफ्ना परिवारका सदस्यलाई सँगै लैजान पाउने छैनन्।

गृहमन्त्री टोनी बर्कले नयाँ आप्रवासन नियमबारे जानकारी दिँदै विदेशी नागरिकको संख्या कटौती गर्ने बताए। उनका अनुसार चालू आर्थिक वर्षमा विदेशी आप्रवासीको संख्या २ लाख ४५ हजार र सन् २०२७–२८ सम्ममा २ लाख २५ हजारमा झारिनेछ। यद्यपि, यसअघि नै परिवार आफ्नो भिसामा समावेश गरिसकेका, विद्यावारिधि गरिरहेका तथा प्यासिफिक र आसियान देशका विद्यार्थीलाई भने यो नयाँ नियम लाग्ने छैन।

भिसाको अवधि सकिएपछि पनि लामो समय बस्ने र भिसा प्रणालीको दुरुपयोग गर्ने विद्यार्थीमाथि सरकारले कडा कारबाही गर्ने मन्त्री बर्कले प्रस्ट पारे। भिसा सकिएकाहरूले देश छाडेको सुनिश्चित गर्न १०० जना नयाँ अनुगमन अधिकारीसमेत नियुक्त गरिने उनले बताए। यसका साथै, कृषि र निर्माण क्षेत्रमा सीप भएका कामदारलाई प्राथमिकता दिने र छुट्टी भिसाको नियममा पनि आवश्यक सुधार गरिने सरकारको तयारी छ।