३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

अमेरिकामा विदेशी सरकारी कर्मचारीका सन्तानलाई जन्मसिद्ध नागरिकता नदिइने, ग्रिनकार्डको नियम स्पष्ट

अमेरिकामा विदेशी सरकारी कर्मचारीका सन्तानलाई जन्मसिद्ध नागरिकता नदिइने, ग्रिनकार्डको नियम स्पष्ट

न्युयोर्क- अमेरिकी सरकारले अमेरिकामा जन्मिने विदेशी सरकारी कर्मचारी तथा कूटनीतिज्ञका सन्तानलाई स्वतः अमेरिकी नागरिकता नदिने नीति स्पष्ट पारेको छ। अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिएचएस) ले नयाँ कार्यविधि सार्वजनिक गर्दै यस्ता बालबालिकालाई जन्मसिद्ध नागरिकता दिनुको सट्टा ग्रिनकार्ड (स्थायी बसोबास) दिने नियम र आवश्यक कागजात खुलाएको हो।

नयाँ नियमअनुसार अमेरिकामा रहेका विदेशी दूतावास, कूटनीतिक नियोग वा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत कर्मचारीका सन्तानले अब जन्मकै भरमा अमेरिकी नागरिकता पाउने छैनन्। आमाबुवामध्ये कम्तीमा एक जना अमेरिकी नागरिक भएमा मात्र सन्तानले जन्मसिद्ध नागरिकता पाउने व्यवस्था गरिएको छ। नागरिकता नपाउने त्यस्ता बालबालिकाले भने अमेरिकामा स्थायी बसोबासका लागि ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन्।

ग्रिनकार्ड लिनका लागि फारम आई–४८५, जन्मदर्ता प्रमाणपत्र, अमेरिकामा लगातार बसोबास गरेको प्रमाण र बाबुआमा विदेशी सरकारी सेवामा रहेको आधिकारिक कागजात पेस गर्नुपर्नेछ।

यो नियम गत सेप्टेम्बर ४ पछि जन्मिएका बालबालिकाको हकमा लागू भइसकेको छ। यद्यपि, संसद्को निर्णयबिना सरकारले कार्यविधि बनाएर जन्मसिद्ध नागरिकताको दायरा संकुचित पारेको भन्दै यो व्यवस्थाविरुद्ध अदालतमा कानुनी चुनौती पर्न सक्ने विज्ञहरूले बताएका छन्।