७ अशोज २०८३, बुधबार
23 September 2026, Wednesday

अमेरिकी अध्यागमनद्वारा देशनिकालाको सूचीमा रहेका हजारौं बन्दीको स्थान गोप्य

अमेरिकी अध्यागमनद्वारा देशनिकालाको सूचीमा रहेका हजारौं बन्दीको स्थान गोप्य

न्युयोर्क- अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) ले देशनिकालाको अन्तिम आदेश पाएका हजारौं बन्दीहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी सार्वजनिक गर्न छाडेको छ। सेप्टेम्बर १५ देखि अनलाइन प्रणालीबाट उनीहरूको विवरण हटाइएको छ। यसले गर्दा वकिल र परिवारलाई उनीहरूको अवस्था पत्ता लगाउन निकै गाह्रो भएको छ।

यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिको रूपमा हेरिएको छ। अनलाइन प्रणालीबाट विवरण हटाउँदा अन्तिम समयमा कानुनी उपचार खोज्न कठिन हुने र छिटो देशनिकाला गर्न सहज हुने अध्यागमन वकिलहरूले बताएका छन्। जुलाईमा मात्रै देशनिकालाको अन्तिम आदेश पाएका करिब १६ हजार व्यक्ति पक्राउ परेका थिए।

अमेरिकी अध्यागमन वकिल संघका प्रतिनिधि ग्रेग चेनले परिवारका सदस्यहरू निकै डराएको बताए। आफ्ना मान्छेलाई कतै देशनिकाला पो गरिसके कि भनेर उनीहरू आत्तिएका छन्। यो कदमले वकिल र बन्दीबीचको सम्पर्कमा पनि गम्भीर असर पारेको उनले प्रस्ट पारे।

आइसीईले यस विषयमा सिधै पुष्टि वा खण्डन गरेको छैन, तर अन्तिम आदेश पाएकाहरूलाई देशनिकाला गर्न प्राथमिकता दिइएको बताएको छ। यद्यपि, अदालतको आदेशका कारण क्यालिफोर्निया, मिनियापोलिस, न्युयोर्क र सिकागोका केही बन्दीगृहमा रहेकाहरूको विवरण भने प्रणालीमा अझै राखिएको छ।

जुलाईको सुरुसम्ममा ६५ हजारभन्दा बढी मानिस अध्यागमनको हिरासतमा थिए। त्यसमध्ये करिब ३० प्रतिशतलाई देशनिकालाको अन्तिम आदेश दिइएको अनुमान छ। वकिलहरूका अनुसार अहिले प्रणालीबाट उनीहरूका धेरै सेवाग्राहीको नाम हराएको छ, जसमा ग्वान्टानामो बेमा राखिएका आठ जना सोमाली नागरिक पनि छन्।