९ अशोज २०८३, शुक्रबार
25 September 2026, Friday

जलवायु न्यायको मुद्दा लिएर प्रधानमन्त्री बालेन न्युयोर्क आइपुगे, असोज ८ मा सम्बोधन गर्ने

जलवायु न्यायको मुद्दा लिएर प्रधानमन्त्री बालेन न्युयोर्क आइपुगे, असोज ८ मा सम्बोधन गर्ने

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिकाको न्युयोर्क आइपुगेका छन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आउने निर्णय भएको थियो। तर, भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि जलवायु संकट र जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउन बालेन आफैँ यहाँ आएका हुन्।

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन विश्व शान्ति, जेन्जी आन्दोलनपछिको नेपालको अवस्था र जलवायु परिवर्तनका असरमा केन्द्रित हुनेछ। नेपालले कार्बन उत्सर्जनमा नगण्य भूमिका खेले पनि जलवायु संकटको ठूलो मार खेप्नुपरेको विषय उनले विश्व समुदायसमक्ष राख्नेछन्।

साथै, जलवायुजन्य विपद्बाट भएको क्षतिको उचित क्षतिपूर्ति पाउनुपर्ने, विकासशील देशका लागि आवश्यक प्रविधि र बजेट उपलब्ध गराउनुपर्ने तथा नेपालले वनजङ्गल र हिमालमार्फत वातावरण संरक्षणमा पुर्‍याएको योगदानबारे पनि उनले धारणा प्रस्तुत गर्नेछन्। यसपटकको महासभामा ८१ देशका राष्ट्रप्रमुख र नेपालसहित ५० देशका सरकार प्रमुख यहाँ भेला भएका छन्।