असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना : प्रधानमन्त्री बालेनले गरे सतर्क रहन आग्रह
- ०७ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- प्रधानमन्त्री बालेन शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले सबैलाई होसियार रहन आग्रह गरेका छन्।
उनले पोखरा, लुम्बिनी, ताप्लेजुङ, जुम्ला र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो र डुबानको ठूलो जोखिम रहेको बताए। सम्भावित विपद्लाई ध्यानमा राख्दै उनले पानी परेको बेला र रातिको समयमा राजमार्गमा यात्रा नगर्न सबैलाई अनुरोध गरेका छन्।
मौसम सफा नभएसम्म पदयात्रा तथा हिमाली क्षेत्रको यात्रा रोक्न र नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन उनले भनेका छन्। विपद्को जोखिम कम गर्न सम्बन्धित निकायलाई पूर्वतयारीमा रहन निर्देशन दिँदै उनले सबैलाई मौसम विभागको सूचना नियमित हेर्न र सुरक्षित रहन सुझाव दिएका छन्।