११ अशोज २०८३, आइतवार
27 September 2026, Sunday

जिडिआईमार्फत विकासशील देशको विकासमा सघाउन नेपालको जोड

जिडिआईमार्फत विकासशील देशको विकासमा सघाउन नेपालको जोड

न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न बाँकी समयलाई तीव्र रूपमा काम गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई)’ सम्बन्धी उच्चस्तरीय बैठकमा उनले यस्तो बताएका हुन्।

विकासशील देशहरूको वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु सङ्कट र ऋणको दबाबका बीच विकासका प्रतिबद्धता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको उनले बताए। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको जिडिआई अवधारणालाई व्यावहारिक रूप दिन चीनले गरेको प्रयासको मन्त्री खनालले प्रशंसा गरे।

गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्र जस्ता जिडिआईका प्राथमिकताले विकासशील देशका आवश्यकतालाई सम्बोधन गर्ने खनालले बताए। नेपाल जिडिआईको सहयोगी समूहमा सहभागी भइसकेको जानकारी दिँदै उनले कृषि, नवीकरणीय ऊर्जा, पूर्वाधार, प्रविधि हस्तान्तरण र सीप विकासका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गरे।