आप्रवासी तथा शरणार्थी कार्यक्रमको बजेट कटौती गर्ने ट्रम्पको निर्णय
- १० अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संसद् (कंग्रेस) ले पारित गरेको करिब १ अर्ब अमेरिकी डलर बराबरको बजेट कटौती गर्ने घोषणा गरेका छन्। आप्रवासी सेवा, शरणार्थी सहायता तथा विविधता सम्बन्धी कार्यक्रमहरूमा जाने बजेट ट्रम्प प्रशासनले रोकेको हो।
ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले अनावश्यक र हानिकारक सरकारी खर्च घटाउन यस्तो निर्णय लिइएको बताएको छ। मेक्सिको सीमाबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेकाले शरणार्थी र बालबालिका सम्बन्धी कार्यक्रममा छुट्याइएको रकम अब आवश्यक नपरेको प्रशासनको दाबी छ।
यस निर्णयबाट आप्रवासी विद्यार्थीका कार्यक्रम, अल्पसङ्ख्यक व्यवसायी विकास कोष, आवास परामर्श तथा विभिन्न अनुसन्धान अनुदान प्रत्यक्ष प्रभावित हुनेछन्। आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहँदा ट्रम्पले विशेष अधिकार प्रयोग गर्दै यो रकम रोकेका हुन्।
ट्रम्पको यस कदमको संसद्मा तीव्र विरोध भएको छ। आफ्नै पार्टीकी रिपब्लिकन सिनेटर सुसन कोलिन्सले यो कदम गैरकानुनी भएको र संसद्को बजेट सम्बन्धी अधिकार खोस्न खोजिएको आरोप लगाइन्। यस्तै डेमोक्र्याट सिनेटर प्याटी मरेले यो जनताको अधिकारमाथिको खुला हस्तक्षेप भएको बताएकी छन्।