१५ अशोज २०८३, बिहिबार
1 October 2026, Thursday

ट्रम्प प्रशासनलाई आप्रवासी तेस्रो देश पठाउने सर्वोच्च अदालतको अनुमति

ट्रम्प प्रशासनलाई आप्रवासी तेस्रो देश पठाउने सर्वोच्च अदालतको अनुमति

न्युयोर्क- अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आप्रवासीहरुलाई उनीहरुको कुनै चिनजान वा सम्बन्ध नभएको ‘तेस्रो देश’ पठाउन अनुमति दिएको छ। मङ्गलबार अदालतले आप्रवासीलाई यसरी देशनिकाला गर्न रोक लगाउने तल्लो अदालतको फैसलालाई बदर गरिदिएको हो।

अदालतका तीन जना न्यायाधीशले भने यो निर्णयको विरोध गरे। अब यस विषयमा अदालतले डिसेम्बरमा थप सुनुवाइ गर्नेछ। ट्रम्पको दोस्रो कार्यकाल सन् २०२५ को जनवरीमा सुरु भएयता हजारौं आप्रवासीलाई दक्षिण सुडान, रुवान्डा र मेक्सिको जस्ता देशमा पठाइएको छ।

तेस्रो देशमा पठाइँदा आफूहरुलाई यातना हुन सक्ने भन्दै आप्रवासीहरुले आफ्नो सुरक्षा चिन्ता राख्न पाउनुपर्ने माग राखेका थिए। तर सरकारले भने ती देशहरुले आप्रवासीलाई दुर्व्यवहार नगर्ने सहमति जनाएकोले सबैको छुट्टाछुट्टै जाँच गरिरहनु नपर्ने बताएको छ। तल्लो अदालतले रोक लगाएका कारण हालै मात्र ७० जना आप्रवासीलाई देशनिकाला गर्ने एउटा उडान रद्द भएको थियो।