१५ अशोज २०८३, बिहिबार
1 October 2026, Thursday

न्यु ह्याम्पसायरका नेपालीबाट बाढीपीडितलाई १ लाख २० हजार डलर सहयोग

न्यु ह्याम्पसायरका नेपालीबाट बाढीपीडितलाई १ लाख २० हजार डलर सहयोग

न्युयोर्क-  न्यु ह्याम्पसायरमा बस्ने नेपालीहरूले नेपालका बाढीपीडितका लागि १ लाख २० हजार ३ सय ६८ डलर सहयोग गरेका छन्। उनीहरूले यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका हुन्।

न्यु योर्कमा रहेको नेपालको महावाणिज्य दूतावासमा एक कार्यक्रम आयोजना गरी सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ। न्यु ह्याम्पसायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, उपाध्यक्ष माधव गुरुङ, महासचिव प्रल्हाद भट्टराई, सचिव शेखर राई, कोषाध्यक्ष भेषराज शर्मा र एनआरएनए च्याप्टरका अध्यक्ष रोशन गुरुङलगायतले नेपाल सरकारका प्रतिनिधिलाई चेक बुझाए। न्यु ह्याम्पसायरमा करिब ३ देखि साढे ३ हजार नेपाली बस्छन्। सानो समुदाय भएर पनि ठूलो रकम जुटाएर उनीहरूले एकताको राम्रो उदाहरण दिएका छन्।

कार्यक्रममा सरकारका प्रतिनिधिले विदेशमा बस्ने नेपालीहरूबाट बाढीपीडितका लागि करिब १० करोड डलर सहयोग प्राप्त भएको बताए। उनका अनुसार प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म १२ देखि १३ अर्ब रुपैयाँ जम्मा भइसकेको छ। यसैगरी, अमेरिका सरकारले पनि नेपालको राहत र पुनर्निर्माणका लागि ३ करोड ६० लाख डलर सहयोग गर्ने घोषणा गरेको उनले जानकारी दिए।