१७ अशोज २०८३, शनिबार
3 October 2026, Saturday

एच-१बी भिसा कार्यक्रम हटाउन जेडी भान्सको समर्थन

एच-१बी भिसा कार्यक्रम हटाउन जेडी भान्सको समर्थन

न्युयोर्क- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एच-१बी भिसा कार्यक्रम हटाउन आफूले समर्थन गर्ने बताएका छन्। अमेरिकी कामदारलाई विस्थापित गरेर सस्तो विदेशी श्रमिक राख्न प्रविधि तथा लेखा क्षेत्रका कम्पनीहरूले यस कार्यक्रमको दुरुपयोग गरिरहेको उनको दाबी छ।

सामाजिक सञ्जाल एक्समार्फत भिडियो सार्वजनिक गर्दै उनले उच्च दक्ष प्रतिभा भित्र्याउने र सस्तो श्रमका लागि भिसा प्रयोग गर्ने कुरा फरक हुनुपर्ने बताएका छन्। भान्सले एच-१बी भिसाका केही निवेदनमा लाग्ने एक लाख अमेरिकी डलर शुल्कको समेत बचाउ गर्दै यसले सस्तो विदेशी श्रम प्रयोगलाई निरुत्साहित गर्ने तर्क राखे। यद्यपि, अक्टोबर १ मा सङ्घीय अदालतले प्रक्रिया नपुगेको भन्दै उक्त शुल्क कार्यान्वयन नगर्न आदेश दिएको छ।

एच-१बी प्रायोजन गर्ने कम्पनीले अमेरिकी कामदार कटौती गरे/नगरेको मूल्याङ्कन गर्न र नियम उल्लङ्घनबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। तर, भान्सले यी सुधारले मात्रै मूल समस्या समाधान नहुने भन्दै यो कार्यक्रम ‘पूर्ण रूपमा बिग्रिएको’ टिप्पणी गरेका छन्।